
पोखरा – कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म ६३ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलनको काम चलेको छ। कास्की २ मा महानगरका ११ वडा छन्। उक्त क्षेत्रमा ३२ मतदान स्थलका ८२ केन्द्रमा मतदान सम्पन्न भएको हो।
जिल्ला समन्वय समिति कास्कीको सभाहलमा मतपेटिका संकलनका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको फौजको सुरक्षामा ढुवानी भइरहेको छ।
मतपेटिका संकलनको काम साँझ ७ बजेसम्म सकिएलगत्तै सर्वदलीय बैठक बस्ने तयारी निर्वाचन कार्यालयको छ। सर्वदलीय बैठकको निर्णयानुसार आज साँझबाट नै मतगणना सुरु हुने जनाइएको छ।
उपनिर्वाचनमा ११ दल र १० स्वतन्त्रका गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्तारुढ नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट खेमराज पौडल उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धी दुई ठूला पार्टीका उम्मेदवारबीच हुने अनुमान गरिएको छ।
गत निर्वाचनभन्दा सात प्रतिशत कम मतदान
गत २०७४ को निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए। ४९ हजार ९ सय १३ मत अर्थात् ७० प्रतिशत मत खसेको थियो। त्यसमध्येको १ हजार ४ सय ६४ मत बदर भएको थियो।
गत निर्वाचन भन्दा यसपटकको उपनिर्वाचनमा झन्डै सात प्रतिशत कम मतदान भएको हो।
सदर मत ४८ हजार ४ सय ४९ मध्ये स्व रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत पाएर कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका थिए। कांग्रेसका चालिसेले गत निर्वाचनमा १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।