
पोखरा – कास्कीको पोखरा–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पाँचजना पुरिएका छन् ।
भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि ‘रिटेनिङ वाल’ लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको हो ।
ढिस्को खस्दाखस्दै दुईजना भाग्न सफल भएका छन् । पुरिएका पाँचजनाको उद्धार भइरहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
उनीहरु त्यहाँ कामका लागि सल्यानको जिल्फाबाट आएका हुन् । ढिस्कोले पुरिएकाहरुमा खिमलाल वली, गणेश वली, बिज बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र तोभान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।