
पोखरा-कास्की २ प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनको मतगणनाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।
कास्की–२ बाट दुई पटक संविधानसभा र एक पटक प्रतिनिधिसभामा गरी नेकपाबाटै स्व. रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्र हो। रवीन्द्रको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त बनेको क्षेत्रमा नेकपाले उनकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो।
पूर्वएमाले निकट अनेरास्ववियूबाटै विद्यार्थी राजनीतिमा उदायकी विद्याको थप राजनीति यात्रासँगै रवीन्द्रको विरासत जोगाइ राख्ने भारसमेत थपिएको छ। विगतका निर्वाचनमा रवीन्द्रले पाएको मतभन्दा उपनिर्वाचनमा विद्याले पाएको मत ‘पपुलारिटी’का हिसाबले फरक छैन्।
कास्की–२ मा सदर मत ४४ हजार ९ सय ४६ को पुरै ५२.२७ प्रतिशत जनमत उनले प्राप्त गरेकी छन्। ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रवीन्द्रको दुई प्रतिशत मात्रै धेरै थियो। कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने १५ हजार ९ सय ९१ मत प्राप्त गरे।
स्थायी मतदाता र विद्याले रवीन्द्रका एजेन्डालाई निरन्तरता दिने प्रतिवद्धतालाई कास्की–२ का मतदाताले अनुमोदन गरी पठाइदिएका छन्। लामोसमय प्राज्ञिक क्षेत्रमा अनुभव कमाएकी विद्या सैद्धान्तिक ज्ञानले समेत निपूर्ण छिन् भन्ने कुरा पार्टी र मतदातामाझ प्रमाणित गरेकी छन्।
शिष्ट शैलीमा थालिएको चुनावी प्रचारकै क्रममा उनका अभिव्यक्ति र भाषणले नेकपाकै शक्तिशाली महिला नेताको रुपमा उदाइरहेको आम मतदाताले अर्थ्याएका थिए।
विजयी घोषणापछि लगत्तै उनले भनिन्, ‘मतदाताले दिनुभएको भरोस विश्वासलाई अडिग रहेर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ दुःखद् क्षणबाट निम्तिएको उपनिर्वाचनमा जनताले दिएको अभिमतलाई आगामी दिनमा निरन्तरता दिने उनले बताइन्।
‘प्राप्त जनमत रवीन्द्र अधिकारप्रतिको सम्मान। कम्युनिष्ट पार्टी र विद्या भट्टराईप्रतिको भरोसा भन्ने ठानेकी छु,’ उनले भनिन्।