सिमकोट – हुम्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर २ स्थित रिप स्वास्थ्य चौकीमा औषधीको अभाव भएको छ । वडाको बजेट निकासा नहुनु, पालिकाबाट पाँच किलो औषधी मात्र उपलब्ध हुनु र जिल्ला अस्पतालबाट पनि आवश्यक औषधी उपलब्ध नभएपछि दुर्गमको उक्त स्वास्थ्य चौकीमा औषधी अभाव भएको हो ।
शरीर दुखेर स्वास्थ्य चौकी पुगेकी सर्केगार्ड गाउँपालिका रिपकी काली फडेराले औषधी नै नपाएको गुनासो गरिन् । चारपटक स्वास्थ्य चौकीमा पुग्दा पनि औषधी नभएको जवाफ मात्र पाएको उनको गुनासो छ ।
अहिले फडेरा मात्र होइन स्वास्थ्य चौकीमा आउने बिरामीहरु सबैको अबस्था यस्तै छ । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निशुल्क रुपमा वितरण गर्नुपर्ने हुन्छ । तर सबै औषधी स्वास्थ्य चौकीमा पार्इँदैन । आउनु पर्ने निकायबाट औषधी नआएपछि स्वास्थ्य चौकीमा यो समस्या थपिएको हो ।
साउन महिनादेखि कात्तिकसम्म वडाबाट ४० जहारको औषधी ल्याएर चलाइएको र गाउँपालिकाबाट पाँच किलो मात्र औषधी उपलब्ध भएपछि औषधी अभाव भएको स्वास्थ्य चौकीका इन्चार्ज चन्दसिंह कार्कीले बताए ।
स्वास्थ्य चौकीमा औषधी कम भएपछि बिरामीलाई उपचार पछि औषधी दिन पनि कन्जुस्याईँ गर्नु पर्ने अबस्था रहेको छ ।
भएका औषधीहरु पनि थोरै मात्रमा छन् । स्वास्थ्य चौकीमा भिटामिन बि कम्प्लेक्स र लोसन जस्ता मलम पनि छैनन् । वडाबाट बिनियोजित बजेट मध्ये एक लाख ५० हजार रुपैयाँ निकासा नभएका कारण औषधी खरिद गर्न नपाएको इन्चार्ज कार्कीले बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































