
काठमाडौँ- पौडीतर्फ २०० मिटर फ्री स्टाइलमा स्वर्णपदक जितेर वाहवाही कमाएकी गौरिका सिंहले आफूलाई ओलम्पिक नै जितेजस्तो महसुस भएको प्रतिक्रिया दिएकी छन्।
आफूलाई बाहिर बस्ने भनेर हियाउने गरेको प्रसंग सम्झँदै उनले देशका लागि स्वर्ण पदक जित्दा खुसी लागेको बताइन्। ‘मैले स्वर्ण जितेर नेपालको झन्डा फहराउन सफल भएँ,’ उनले भनिन्।
दक्षिण एसियाली खेलकुदका लागि १२ वटा स्पर्धामा प्रतिष्पर्धा गरिरहेकी गौरिकाले बिहीबार इन्डिभिज्युअल इभेन्टमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन्।
अर्को ४ सय मिटर फ्री स्टाइलमा पनि उनी नेतृत्वको नेपाली टोलीले कास्य पदक जितेको छ। उनले अन्य ९ वटा सिंगल र एउटा रिले स्पर्धा खेल्न बाँकी नै छ।
आफूले इन्डिभिज्युअलमा नै अपेक्षा गरेको र यसमै स्वर्ण पाउँदा खुसी लागेको उनले बताइन्।
उनले अन्य स्पर्धामा पनि पदकको अपेक्षा गरेकी छन्।
नेपालमै खेल्दा होम सपोर्ट पाउने भएकाले यो मन परेको र नेपालमै पदक जित्दा खुसी लागेको उनले बताइन्।
बेलायतमा बसोबास गर्ने गौरिका सिंह नेपालका लागि पौडीमा प्रख्यात नाम हो। उनले यसअघि १२ औँ सागमा पनि रजत पदक जितेकी थिइन्।
२०० मिटर बेस्ट स्ट्रोकमा नेपालकै डुआना लामाले रजत पदक जितेकी छन्।