
पोखरा– नेपाल साहित्य महोत्सव शुक्रबारदेखि पोखरामा सुरु भएको भएको छ। बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा उक्त महोत्सव चारदिनसम्म चल्ने छ। महोत्सवको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे।
समृद्धि आजको सरकारको सपना भएकाले साकार पार्नुपर्ने दायित्व पनि सरकारमाथि रहेको मुख्यमन्त्री गुरुङले सुनाए। समृद्धि भनेको केवल भौतिक पूर्वाधार विकास मात्रै नभई समग्र जनताको जीवनस्तर उकास्ने पक्ष भएको उनले बताए।
‘आर्थिक रुपमा मात्रै नभई बौद्धिक रुपमा पनि नागरिकलाई सबल पार्ने कुरा हो,’ उनले भने, ‘वैचारिक हिसाबले उन्नत र सबल बनाउन सक्यौँ भने मात्रै वास्तविक समृद्धि हासिल हुन्छ।’
यसका लागि ज्ञान र अनुसन्धान आवश्यक हुने हुँदा नेपाल लिटरेचर फेस्टिभल जस्ता महायज्ञहरुको योगदान रहने मुख्यमन्त्री गुरुङले बताए। प्रदेश नै साहित्य, संस्कृतिमा धनी भएकाले प्रदेशबासीले साहित्यमा दिएको योगदानले प्रतिष्ठा उचो बनाइराखेको उनले सुनाए।
‘नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको कुरा गरौँ या राष्ट्रकवि माधवप्रसाद घिमिरेको अथवा कविशिरोमणि लेखनाथ पौडेलले नेपाली भाषा साहित्यको भण्डारमा भरेको ज्ञान ओजिलो छ,’ उनले भने।
गण्डकी प्रदेशका झन्डै एक दर्जन बढी साहित्य साधकलाई उनले कार्यक्रममा सम्झन भ्याए। कला साहित्यमा रुचि राख्ने आफू जस्तै पाठकलाई महोत्वले प्रेरित गर्ने उनको विश्वास छ। साहित्य महोत्सव पनि आगामी दिनमा बाहिरी देशमा विस्तार भएको हेर्न चाहेको मुख्यमन्त्री गुरुङले सुनाए।
आयोजकले महोत्सव बाराहीघाटमा आयोजना गर्ने भनिए पनि बिहानदेखिको अविरल वर्षाका कारण स्थान परिवर्तन भएको थियो। बाराहीचोकमा रहेको ज्यास्मिन थाई चि रेष्टुरेन्टमा उद्घाटन गरी सत्रहरु सञ्चालन भएका हुन्।
पानीका कारण अली मियाँ कक्षमा सञ्चालन हुने भनिएका तीन वटा सेसन सञ्चालन गर्न नपाएको आयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिए। उक्त सेसनलाई शनिबार सञ्चालन गरिने उनले बताए।
कवि शिरोमणि कक्षमा तय भएका सत्रहरु रेष्टुरेन्टबाट नै सञ्चालन भइरहेका छन्। पानीकै कारण कयाैँ साहित्यअनुरागीहरु कार्यक्रममा उपस्थित हुनबाट बञ्चित भए। रेष्टुरेन्टमा सहभागी सबै संख्या थेग्न नसकेका कारण पनि कार्यक्रम प्रभावित भएको छ।
उद्घाटन सत्र पूर्वअर्थमन्त्री एवं नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचनबाट सुरु गरिएको थियो। लोकतन्त्रको विकास र सार्वजनिक दायित्वबारे उनले बोलेका थिए। त्यसलगत्तै ‘लेक रहे पो रहला लेकसाइड’ विषयमा फेवाताललाई नजिकबाट नियालिरहेका देवेन्द्रबहादुर लामिछाने सहित किशोर थापा, विश्वप्रकाश लामिछाने, गणेशबहादुर भट्टराई छलफल गरे।
चन्दा भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डेले समानताको लडाइबारे विचार प्रकट गरे। कविशिरोमणि कक्षमा सञ्चालन तय भएका भैरव अर्याल मीमांशा, संघीयताको सकस र अन्तिम सत्र वाह ! गजल रेष्टुरेन्टबाटै सञ्चालन हुँदैछन्।
३० गतेसम्मसम्म चल्ने उक्त महोत्सवमा देश विदेशका १ सय १० भन्दाबढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विभिन्न विधाका विश्लेषकहरु जमघट भएका छन्।