सिमकोट– माथिल्लो हुम्लामा बाक्लो हिमपात भइरहँदा पनि विद्यार्थीहरु मावि र निमावि तहको वार्षिक परीक्षा दिइरहेका छन्।
दुई दिनदेखि लगातार हिमपात भइरहेको भए पनि पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्नुपर्ने भएपछि विद्यार्थीहरु परीक्षा दिन बाध्य भएका हुन्।
चिसोले बोल्नै नसक्ने अवस्थामा पनि परिक्षा दिइरहेका बालमन्दिर माविमा कक्षा १० मा अध्ययनरत छात्र जसबहादुर ऐडीले विद्यार्थीहरुलाई लेख्न कठिन भएको बताए।

चिसोको कारण प्रश्नको उत्तर आए पनि लेख्न आफूलाई कठिन भइरहेको र यो समस्या सबै विद्यार्थीहरुलाई उस्तै रहेको ऐडीको भनाई छ। उक्त माविमा कक्षा एकदेखि दशसम्मको परिक्षा बिहान एघार बजेदेखि दिउँसो एक बजेसम्म सञ्चालन भइरहेकाे छ।
यता कक्षा सातमा अध्ययनरत छात्रा सुस्मिता रावतले चिसोका कारण यस पालीको परिक्षाको परिणाममा फरक आउने बताइन्। विद्यार्थीहरुले आफूले जानेको कुरा चिसोको कारण लेख्न नसक्ने अवस्था रहेपछि विद्यार्थीको रिजल्टमा असर पर्ने उनको तर्क छ।
जति चिसो भएपनि परिक्षा दिनै पर्ने भएपछि धेरै विद्यार्थीहरु थरथरी काँप्दै परीक्षा दिइरहेका छन्।
बाहिर बाक्लो हिमपात भइरहेका कारण विद्यार्थीहरु माइनस पाँच डिग्री तापक्रममा परिक्षा दिनु परेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए।
बाहिर एक फिटभन्दा बढी हिउँ जमिरहेको र हिउँ पर्ने क्रम बाक्लो कुहिरोका बिच जारी रहेका कारण अध्याँरो कोठामा विद्यार्थीहरुले परिक्षा दिइरहेको विद्यालयले जनाएको छ।

गाउँपालिकाको शिक्षा शाखाले सबै माध्यामिक विद्यालयहरुको वार्षिक परिक्षा मंङ्सिर २७ गतेबाट संचालन गर्ने निर्णय गरेको थियो। निर्धारित समयमा परिक्षा सञ्चालन गर्नुको विद्यालयसँग विकल्प नभएपछि चिसो भए पनि परिक्षा संञ्चालन गर्नु परेको हो।
सो विद्यालयमा ३८४ जना विद्यार्थीहरुले परिक्षा दिइरहेका छन्। चिसोको कारण विद्यालयले बाल विकासका विद्यार्थीहरुको परिक्षा लिएको छैन।

यता सदरमुकाम सिमकोटकै मानसरोवर माविमा पनि चिसोको प्रवाह नगरि शरिर कमाएरै भएपनि विद्यार्थीले परिक्षा दिइरहेका छन्। कक्षा ६ देखि १० सम्म अध्ययन हुने सो विद्यालयमा ३३४ जना विद्यार्थीहरुले परिक्षा दिइरहेको प्रअ शाहीले बताए।
यसैगरि रलिङ, रामदेश, कैलाश, कर्णाली र सैपाल माविले पनि हिमपातका बीच परिक्षा सञ्चालन गरिरहेका छन्। परिक्षा पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































