सिमकोट– हुम्लामा बिहीबार भएकाे टिपर दुर्घटनामा परी घाइते भएका दुई जनाकाे तीन दिनपछि शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ।
नाम्खा गाउँपालिकाको तुम्कोट भीरमा भएको टिपर दुर्घटनामा परि घाइते भएका दुई जनाको शनिबार मौसममा सुधार आएपछि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले मुचुबाट उद्धार गरेर सुर्खेत लगेकाे हाे।
दुई दिनसम्म भएकाे लगातारकाे हिमपातपछि शनिबार आकाश खुल्दा विमानस्थल भित्रको एप्रोनको हिउँ पन्छाउने कार्य भए पनि हेलिकप्टर सुर्खेतबाट सिधै मुचुमा अवतरण गरेर दुबै जना घाइतेको उद्धार गरेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए।
अब घाइते दुबैकाे उपचार प्रदेश अस्पताल सुर्खेतमा हुनेछ। उनी दुवै जनाको प्राथमिक उपचार मुचु स्वास्थ्य चौकीमा भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको भएपनि हिमपातका कारण हेलिकोप्टरले उडान भर्न नसक्दा दुई दिनसम्म घाइतेहरु स्वास्थ्य चौकीमै उपचार गर्न बाध्य भएका थिए।
शनिबार मौसममा सुधार आएपछि गृह मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गरेर उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए। हेलिकप्टर बिहीबार नै ल्याउने तयारी भएपनि हुम्लामा हिमपातका कारण आउन सकेकाे थिएन।
तुम्कोट भिरमा भएकाे टिपर दुर्घटनमा परि दुई जनाको ज्यान गएको थियो भने गाडी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका फुलमान तामाङ र नाम्खा १ की सोमान छेजुङ लामा घाइते भएका घाइते भएका थिए।
हिल्साबाट याल्बाङका लागि टिपरले इन्धन र दैनिक उपभोग्य सामान ढुवानी गरेको थियो।
दुर्घटनामा मृत्यु भएका दुई जनाकाे शव भने मुचु स्वास्थ्य चौकीमै राखिएको छ।
शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउन शनिबार जिल्ला अस्पतालका डाक्टर मुचु जाने भनिए पनि हेलिकोप्टर सुर्खेतबाट सिधै मुचु जाँदा सो कार्य हुन नसकेको र अब पोष्टमार्टम कहिले हुने हो निश्चित भएको छैन।

भर्खरै
लोकप्रिय






































































































































































































