
मै खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरू
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु
भनी दाह्रा धस्ने अबुझ शठ देखि छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरीमरी।
बिहानीको चिसो छेल्दै करिब दुई दर्जन साहित्यनुरागी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा पुग्दा मन्त्रमुग्ध भए।
कवि शिरोमणिका श्लोकमा लेखक अमर न्यौपानेले थप कसी लगाउँदै भने, ‘मलाई कवि शिरोमणिका कविता मन्त्र जस्तै लाग्छन्। उनको नाम नजान्दै उनकै कविता सुनेर हुर्किए।’
पोखरामा अन्तिम दिनको पहिलो सेसनमा नेपाल साहित्य महोत्सवले कविशिरोमणिको जन्मथलो पोखरा २७ स्थित अर्चलेमा कार्यक्रम सञ्चालन गर्ने चाँजो मिलायो।
महोत्सवस्थल बाराहीघाट लेकसाइडमा कविशिरोमणिको कक्ष समेत स्थापना गरिएको थियो । जहाँ दैनिक आधा दर्जनभन्दा बढी सेसन सञ्चालन भए । तर साहित्यानुरागीलाई प्रत्यक्ष अवलोकनका लागि महोत्सव आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्यान्डम रिर्डस सोसाइटीले कविशिरोमणिकै जन्मथलोमा ल्याई पुर्यायो।
लेखक न्यौपानेले पनि कविशिरोमणिको जन्मथलोमा आउन पाउनु आफूसहित साहित्य प्रेमीको तीर्थयात्रा भएको सुनाए । उनी यतिमै रोकिएनन्, ‘हाम्रो लागि मन्दिर, मस्जिद, गुम्बा र चर्च सबैथोक हो।’
कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरुको संग्रह प्रकाशनमा जिम्मेवारी पाएका संगृहितकर्ता सनद कुमार वस्तीले कविको आर्शिवाद साहित्यको जग बसेको बताए।
कवि शिरोमणिका रचनावली संग्रहमा सुरक्षित गर्ने काम नेपाली साहित्यमै पहिलोपटकको सुन्दर अभ्यास भएको उनले सुनाए। काव्य, कविता, नाटक, स्तुति काव्य लगायतक कविशिरोमणिका दर्जनबढी कृतिको सुरक्षण गर्ने जिम्मेवारी पाउनु अहोभाग्य रहेको बताए।
रचनावली संग्रह पाँच खण्डमा विभाजन गरी प्रकाशन गरिएको छ। वस्तीले भने, ‘हामीले पश्चिमा मुलुकको दर्शनलाई मान्ने चलन छ । कविशिरोमणिका रचनालाई बुझ्ने प्रयास गर्यौ भने महान् दर्शन हामीले त्यहीँ भेटाउँछौं।’
रचनावलीको प्रकाशन पछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सर्मपित गर्दा उनी प्रसन्न हुँदै घिमिरेको दिएको ‘स्याब्बास्’ आफ्ना लागि ठूलो पुरस्कार रहेको वस्ती सुनाए। कवि शिरोमणिको जन्मथलो र संग्रहालय अवलोकन गरी उनीहरु केहीबेरमै फर्किएका थिए।