
पोखरा- सेल्फी पत्रकारिताले विषयलाई कत्तिको अन्याय गरिरहेको हुन्छ? के त्यस्ता जानकारी नदिने तथ्य र लेख्ने पत्रकार केन्द्रित समाचार पाठकले किन्नु जरुरी छ?
नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन इन्डियन एक्सप्रेसका प्रधान सम्पादक राजकलम झा सेल्फी पत्रकारिता प्रजातन्त्रका लागि कत्तिको अप्रभावकारी छ भन्नेबारे नेपाली पत्रकार कुन्द दीक्षितसँग गफिए। समग्रमा सेल्फी पत्रकारिता प्रजातन्त्रकै लागि खतरा बनिरहेको झाले सुनाए।
‘सेल्फी पत्रकारितामा विषय कम र पत्रकारले आफूलाई बढी फोकस गरिरहेको हुन्छ’, उनले भने, ‘पाठकलाई जानकारी नदिने र पत्रकार केन्द्रित समाचार पाठकले किन किन्नु ?’ उनले अप्रसन्नता जनाए।
झाले समाचारमा तथ्य भन्दा अनुभूति बढी छापिने गरेको बताए। सम्पादकीय संस्थाको विचार बन्नुपर्ने उनले सुनाए। सम्पादकीयमा संस्थाको भन्दा बढी व्यक्तिको विचार हाबी भएको उनको भनाइ थियो।
सेसनका क्रममा झाले मूलतः पत्रकारिताको मुख्य काम भनेकै आमनागरिकलाई सूचना दिने रहेको बताए।
सामाजिक सञ्जालको बढ्दो प्रयोगबारे र पत्रकारितासँगको तुलनामा झाले धारणा राखे। सामाजिक सञ्जालले पत्रकारिताको धर्म निर्वाह गर्न नसक्ने झाको भनाइ छ। तर पनि सामाजिक सञ्जालका कारण पत्रकारितामा दबाब सिर्जना भइरहेको उनले स्वीकार गरे।
बेलायतका प्रधानमन्त्री जोन्सनले हालै बिबिसीलाई अन्तर्वार्ता दिन राजी नभएको प्रसंग उनले सुनाए। ‘किन कि सामाजिक सञ्जालमा उनले आफ्ना कुरा अभिव्यक्त गर्छन्,’ उनले भने।
कार्यक्रममा उनले आफ्नो पुस्तक सिटी एन्ड दि सिबारे पनि बोलेका थिए।