
सिमकोट– हुम्ला सिमकोट गाउँपालिकाको वडा–५ ले सेवाग्राहीहरुलाई घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
यसअघि वडा कार्यालयमै बोलाएर भत्ता दिने गरेको भएपनि अहिले हिमपातको कारण वडामा आउन कठिन हुने देखिएपछि वडा अध्यक्ष, सदस्य र कर्मचारीसहितको टोलीले घरघरमै गएर भत्ता वितरण गरेको हो।
यसअघि वडा कार्यालयमा गएर भत्ता पाउँदै आएकोमा यसपाली भने घरमै वडा अध्यक्षसहितको टोली आएर भत्ता वितरण गर्दा आफू जस्ता अपांगता भएका सेवाग्राहीहरुलाई निक्कै सहुलियत मिलेको सिमकोट गाउँपालिका वडा नम्बर ५ का सेवाग्राही काली बहारदुर रोकायाले बताए।
उनले चार महिनाको बाह्र हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। हिमपातले गर्दा अपांगता भएका नागरिकहरुलाई वडा कार्यालयसम्म जान सक्ने अवस्था नभएको बेला वडाले स्वागत योग्य काम गरेको सेवाग्राहीहरुको भनाई छ।
सेवाग्राहीकै मर्कालाई ध्यानमा राखेर घरघरमै गएर सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु वितरण गरिएको वडा अध्यक्ष कृष्ण बहादुर बोहराले बताए। भत्ता वितरण गर्न वडा अध्यक्ष, सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो। कतिपय सेवाग्राहीहरु वडा कार्यालयमा आउन नसक्ने भएपछि घरघरमै गएर वितरण गर्ने व्यवस्था गरिएको हो।
गाउँमा हिउँ धेरै जमेको कारण सेवाग्राहीहरु आउन सक्ने अवस्था थिएन। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडाले वितरण गरेको हो। सिमकोट गाउँपालिका वडा नम्बर ५ मा यसरी सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २४९ रहेकाे छ।
यसमा जेष्ठ नागरिकले मासिक तीन हजार, एकल महिलाले मासिक दुई हजार, अतिअशक्तले मासिक एक हजार ६ सय र बालबालिकाले मासिक चार सय भत्ता पाउँदै आएका छन्। यसका लागि प्रथम चौमासिकमा एघार लाख सत्र हजार ६०० खर्च भएको छ।