
पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य पेश गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १ बल खेल्नुअघि अलआउट भई १ सय ४० रनको योगफल बनायो।
धनगढीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारीमा सर्वाधिक ६१ रनको योगदान गरे। तेस्रो ब्याट्सम्यानको रुपमा क्रिजमा उत्रिएका दीपेन्द्रले ४५ बलको सामना गर्दा २ छक्का र ६ चौका प्रहार गरे।
उनी १७.३ ओभरमा अविनाश बोहराको बलमा शंकर रानाको हातबाट क्याचआउट भए।
सन्दिप जोरा आउट हुनुअघि दीपेन्द्रसँग ८७ रनको साझेदारीमा धनगढीका लागि स्कोर बढाएका थिए। सन्दिपले ३९ बलमा व्यक्तिगत ३२ रन बनाएर रनआउट हुन पुगे। सौरभ खनाल १० रनमा आउट भए । धनगढीका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन लिन सकेनन्।
बलिङतर्फ बुटवलका अविनाश बोहराले ३.५ ओभरमा २६ रन खर्चिदै ४ विकेट लिए। ललितसिंह भण्डारीले ३ विकेट झारे। उनले ४ ओभरमा १९ रन खर्चिए।
सोमपाल कामीले २७ रन खर्चिदा १ विकेट झारे। नितेश थापा र हर्ष टंकले ४/४ ओभरमा क्रमशः ३७ र २७ रन खर्चिएपनि विकेट लिन सकेनन्।
यसअघिको ३ खेलमा धनगढीले १ खेल मात्रै जितेको छ। बुटवलले ३ खेलमध्ये २ खेलमा जित हात पारिसकेको छ।
धनगढीले दिएको लक्ष्य पछ्याउँदै बुटवल जवाफी ब्याटिङमा उत्रिएको छ।