हुम्ला – समाजमा बढ्दो क्रममा रहेका विसंगति र गलत मान्यताहरुलाई रोक्न किशोरी समूह सक्रिय भएको छ । समस्याहरु धेरै भएपनि सबै भन्दा बढी समस्याको रुपमा आएका पक्षलाई प्राथमिकता दिएर त्यसको समाधानका लागि किशोरी समूह लागिपरेको हो ।
विशेष गरि महिला तथा बालबालिका लक्षित समस्याहरु धेरै भएको र त्यसको पहिचान गर्ने काम सम्पन्न गरिएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ को जागरण किशोरी संवाद केन्द्रका अध्यक्ष निर्मला शाहीले बताइन् ।
उनका अनुसार त्यसमा बाल विवाह पहिलो नम्बरमा आएको छ भने अन्य समस्याहरुमा बहुविवाह, महिला हिंसा, छुवाछुत, विभेद, छाउपडी, सुत्केरी हुँदा गोठमा बस्ने जस्ता समस्या पहिचान भएका छन् ।
समूह गठन भएको छोटो समयमै दुईवटा बालविावह रोकेको शाहीले बताइन् । कतै पहिचान भएका समस्याका बारेमा जानकारी आए त्यसको समाधानका लागि संवाद केन्द्रमा आबद्ध २५ जनै किशोरीहरु त्यस विरुद्ध लाग्ने गरेका छन् ।
यता सर्केगार्डकै वडा नम्बर ४ को गोठीमा पनि किशोरी सम्वाद केन्द्रका किशोरीहरु मिलेर छोरा छोरीमा गरिने विभेद विरुद्ध काम गरिहरेका छन् । कोपिला किशोरी संवाद केन्द्रकी अध्यक्ष सोबिना बिकले घरघरमा गएर विभेद नगर्न सम्झाउने कार्य गरिरहेको बताईन् ।
सर्केगार्ड गाउँपालिकाका आठवटै वडाहरुमा दशवटा किशोरी संवाद केन्द्र गठन भएका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































