
पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा बुटवलविरुद्ध ४ विकेटको जित हात पार्दै विराटनगरले प्लेअफको अन्तिम ३ मा स्थान बनाएको छ।
बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य ६ विकेट गुमाएर विराटनगरले ११.४ ओभरमा पूरा गरेको हो। विराटनगरसँग पराजय भोगेपनि बुटवल यसअघि नै प्लेअफमा पुगिसकेको छ।
विराटनगरले १२.२ ओभरमा उक्त लक्ष्य पूरा नगरे काठमाडौं गोल्डेन वारियर्सका लागि मौका थियो। विराटनगर तालिकाको अन्तिम तीनमा पुगेसँगै काठमाडौं बाहिरिएको छ।
लिग चरणका ५ खेलमा जित हात पारेको चितवन राइनोज भने फाइनल पुगिसकेको छ। फाइनलमा पुग्नका लागि इलिमिनेटरमा पनि बुटवल र विराटनगरबीच बिहीबार खेल हुनेछ।
मौका परीक्षणमा खेलिरहेको विराटनगरका लागि पुनरागमन गराउन निकै मेहनत गर्नुपर्यो।
ओपनर ब्याट्सम्यान मोहम्मद जियाद आलमले २४ रन बनाएर आउट भए। त्यसअघि उनी एक्लैले विराटनगरका लागि ४ विकेट लिएर बुटवललाई कम रनमै सीमित गराए। ४ ओभरमा उनले २० रन मात्र दिए।
ब्याटिङमा विराटनगरका लोकेश बम १३ रनमा आउट हुन पुगे। पुनित मेहरा र नोमान खानको ३४ रनको साझेदारीमा थोरै ओभरमा निर्धारित लक्ष्य पूरा गर्न विराटनगर सफल देखियो। पुनितले १७ बलमा ३२ रन बनाएर आउट भए भने २२ बलमा ३५ रन बनाएर आएट हुन पुगेका थिए।
कप्तान प्रदीपसिंह ऐरीले १५ रनको योगदान गरे। सुनिल धमाला २ रनमा आउट भए। पुष्प थापा १८ र मिनाष थापा १ रनमा अविजित रहे।
बलिङतर्फ बुटवलका नितेश थापाले २ विकेट लिए। कमल खत्री, हर्ष टंक, अविनाश बोहराको नाममा समान १ विकेट रह्यो।
त्यसअघि बुटवलका ब्याट्सम्यान हर्ष टंकले ६७ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए। उनले ४४ बलमा ५ छक्का र ६ चौका प्रहार गरेका थिए।
बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा १ सय ३३ रनको योगफल मात्र खडा गरेको थियो। इनिङ्सको ओपनिङ गरेका अफ्ताबउद्दिन अहमद र शंकर राना सस्तैमा आउट हुँदा विराटनगरका लागि मौका रह्यो।
विराटनगरका किशोर महतोले २ विकेट झार्न सफल भए। दीपेश श्रेष्ठ, साहब आलमको नाममा समान १ विकेट रह्यो।