
हुम्ला – कुखुरा पालन व्यवसायबाट मनग्य आम्दानी हुने थाहा पाएपछि हुम्लाका युवाहरु व्यवसायिक कुखुरा पालनमा आकर्षित भएका छन् । सदरमुकाम सिमकोटबाट दुई दिनको पैदल दूरीमा रहेका गाउँहरुमा पनि कुखुरा पालन व्यवसाय फस्टाउदो क्रममा छ ।
काम गर्ने जाँगर भएर पनि काम गर्न नपाएका सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँयाका प्रकाश बहादुर शाहीले दुई हजार कुखुरा नेपालगंजबाट गत भदौमा हवाई जहाजमा ढुवानी गरेर कुखुरा फर्म व्यवसाय सुरु गरेका छन् ।
एक हजार ब्रोइलर कुखुरा र एक हजार गिरीराज कुखुरा उनले फर्ममा राखेका थिए । उनले अहिले ब्रोइलर कुखुरा बिक्री गर्न सुरु गरेका छन् । दैनिक ४५ हजारसम्मका कुखुरा बिक्री भइरहेको उनले बताए ।
गिरीराज कुखुराले दैनिक पाँच सयसम्म अण्डा दिन थालेका छन् । अण्डा प्रतिदाना २५ रुपैयाँमा बिक्री हुने गरेको छ । मासु ढुवानीका लागि शाहीले घोडा प्रयोग गर्दै आएका छन् ।
चार जनाले शाहीको कुखुरा फारममा रोजगारी पनि पाएका छन् । प्रतिकेजी सात सय रुपैयाँमा दैनिक ६५ केजी मासु बिक्री हुने गरेको शाहीले बताए । मंसिर महिनामा शाहीले तेह्र लाख ६६ हजारको मासु बिक्री गरेका छन् ।
हुम्ला जिल्लामा आवश्यक पर्ने कुखुराको मासु जिल्ला मै उत्पादन गर्ने लक्ष लिएको शाही बताउँछन् ।