
पोखरा– सन् १९९७ सम्म पोखरामा पर्यटक लक्षित कुनै कार्यक्रम वा त्यस्ता इभेन्ट हुँदैनथ्यो, जहाँ पाइलो अडियोस्। पर्यटकको पातलो उपस्थितिमा पनि इच्छा भएका पर्यटन व्यवसायीलाई लगानीको जोखिमले कुनै योजना सोच्न दिँदैनथ्यो। अंग्रेजी नयाँ वर्ष, क्रिसमस जस्ता रेगुलर क्यालेन्डरको पुरै नजरअन्दाज थियो।
त्यतिबेलाको समय हो। जतिबेला अंग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउनकै लागि नेपालमा रहेका पर्यटक पनि भारतको गोवा, थाइल्यान्ड पुग्थे भने, कोही आफ्नै मुलुक फिर्थे। आन्तरिक पर्यटकलाई ‘गन्ने’ परम्परा थिएन।
पर्यटनको जग बसाउँदै गरेका केही पोखरेली पर्यटन व्यवसायी भने आतुर थिए। सोही क्रममा पर्यटकलाई भुलाउने बहाना निकाल्नु थियो। डिसेम्बरमा पर्यटकको आगमन शून्य प्रायः बाट उकास्न पनि पहिलोपटक सन् १९९८ मा योजनाको रुपमा आयो ‘लेकसाइड सडक महोत्सव’।
पहिलो संस्करणले केही आशा जगायो। त्यसयता ‘पोखरा सडक महोत्सव’ नाम जुराइयो। अहिले त्यही महोत्सव लोकप्रिय हुँदै ‘स्ट्रिट फेस्टिभल’ नामले समेत परिचित छ।
‘नाइट लाइफ’ बिताउनेका लागि लेकसाइड हरबखत तम्तयार देखिन्छ। अधिकांश लेकसाइडका रेष्टुराँ, लाइभ पपबार र डान्स क्लब मध्यरातसम्म जागा रहन्छन्।
सामान्य दिनभन्दा भिन्न यसकारण हुन्छ, लेकसाइडको ‘स्ट्रिट फेस्टिभल’ जहाँ सबथोक सडकमै छ। महोत्सवको नारा नै छ, ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’।
बुद्धका बिहार ठाउँ–ठाउँका चौतारामा स–साना आकार लिएर सजिएका छन्। विभिन्न जातजातिका सांस्कृतिक समूहले आ–आफ्नै प्रस्तुतिसँगै दर्शकलाई झुमाई नै रहन्छन्। अन्य दिन पप–बार भित्र सुनिने लाइभ म्युजिक र दोहोरी सडकमा गुञ्जिन्छ।
किचनमा पोलिने बारबिक्यू सडकमै पोलिन्छ। सडकमै राखिएका टेबलमा चारैतिरबाट उठेको अनेकौं परिकारका बास्नाले लेकसाइड पुग्ने हरकोहीलाई ‘फेस्टिभ’ बनाउँछ।
खहरेदेखि कोमागाने पार्कसम्मको ३ किलोमिटर क्षेत्रमा सवारी आवागमन निषेध छ। कल्चर, फुड र म्यूजिकको सही कोलाज हेर्न यतिबेला एकपटक लेकसाइड पुग्नै पर्ने हुन्छ। त्यसमा पनि अधिकांश विदेशी अनुहारको उपस्थितिले फेस्टिभललाई अन्तर्राष्ट्रिय बनाएको छ।
कामागाने पार्कभित्र रातमा राष्ट्रियस्तरका कलाकारको लाइभ कन्सर्टले फेवाकिनारको चिसो बिर्साउँछ। युवाका सर्वाधिक रोजाई र लोकप्रिय कलाकारले हजारौं दर्शक माझ प्रस्तुति दिँदा माहोल तातिन्छ।
अंग्रेजी वर्षको स्वागत अब बहाना हुनसक्ला तर पोखरा सडक महोत्सव एउटा आफ्नै ब्रान्ड बनिसकेको छ। विदेशी पाहुनाको विशेष दिनलाई महत्व दिँदै नेपालमा भव्य इभेन्ट हुनु उनीहरुप्रति सम्मान र नेपाली पर्यटनको लागि दिगो भविष्यलाई सुनिश्चित गर्ने उत्तम उपाय बनेको छ।
यही लक्ष्य बोकेर २१ औं संस्करणसम्म निरन्तरता दिँदै आएको रेष्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म फेवाकिनारमा महोत्सवमार्फत अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई भव्य स्वागत गरिरहेको छ।
आजभन्दा २१ वर्षअगाडि सडक महोत्सवको योजना नबनेको भए सायद लेकसाइड हरबखत गुलजार हुने थिएन।
नयाँ वर्ष मनाउन चाहना हुने पर्यटकलाई पोखराले यहीँ रोक्न सक्ने थिएन। सडक महोत्सवकै निरन्तर सफलताले लेकसाइडलाई २४ सै घन्टा खुलाउनु पर्ने आवाज उठिरहन्छ।
पहिलोपटक सडक महोत्सव आयोजना गर्दा संयोजकको जिम्मेवारी पाएका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई सम्झिन्छन्,
‘महोत्सव गर्नुभन्दा अगाडि डिसेम्बरमा पर्यटकको आगमन शून्य जस्तै थियो। पोखरेली पर्यटन व्यवसायी पनि अंग्रेजी नयाँ वर्ष मनाउन भारत, थाइल्यान्ड जान्थे’
उनी अगाडि थप्छन्, ‘महोत्सवले दिलाएको सबैभन्दा ठूलो कुरा आन्तरिक पर्यटकलाई पनि पर्यटकको दर्जामा सम्मान गर्न थालियो।’
महोत्सवकै कारण विदेशी पर्यटक पोखरा आउन थालेको उनको भनाइ छ। घुम्न आएका विदेशी र विभिन्न आइएनजिओमा तथा विभिन्न मुलुकका दूतावासमा कार्यरत विदेशी कर्मचारीले क्रिसमस र नयाँ वर्ष मनाउन पोखरा रोज्ने गरेको उनको अनुभव छ।
२० प्रतिशत विदेशी पर्यटकको सहभागिताले महोत्सवको आकर्षण बढाएको भट्टराई बताउँछन्। ‘प्रत्येक वर्ष विदेशी पर्यटक बढ्दै गएका छन्। भारतीय, चिनियाँ, युरोपेली, अमेरिकी पर्यटकको सहभागिता हुँदै आएको देख्छौँ।’
डिसेम्बरमा पर्यटकीय चापले पोखरामा अफ सिजन मानिन्थ्यो। त्यही क्रममा भारतको गोवामा अंग्रेजी नयाँ वर्ष मनाउन र रिफ्रेस हुन जाँदा देखेको महोत्सव यहाँ सुरु गरेर उद्देश्य अनुसार विस्तार भइरहँदा भट्टराई खुसी छन्।
‘सरकारी स्तरबाट पनि पोखरा सडक महोत्सवलाई अंग्रेजी नयाँ वर्ष मनाउने अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रुपमा विकास गर्न पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘सडक महोत्सवलाई नेपालको ब्राण्डको रुपमा विकास गर्दै लैजानुपर्छ। महोत्सवमा देशभरकै घरेलु उत्पादनलाई उचित स्थान दिएर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गराउनु पर्छ।’
महोत्सवले पोखराका होटल तथा रेस्टुरेन्टलाई देश विदेशमा चिनाउन सफल भएको रेबानका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईको मत छ।
बढीभन्दा बढी पर्यटक भित्रिने आशा जगाएसँगै पोखरा जुनसुकै सिजनका लागि उपयुक्त छ, भन्ने सन्देश दिन महोत्सव माध्यम भइरहेको उनी सुनाउँछन्। ‘फेवाकिनारको खुला वातावरणमा रमाइलो गर्न पाउँदा पर्यटकले नयाँपन पाएका छन्।’
नेपाली कला संस्कृतिसँगै अन्तर्राष्ट्रिय गुणस्तरको खानाका परिकार पस्कनु महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ।
‘पर्यटकलाई सेवा दिने व्यवसाय भनेको निकै संवेदनशील व्यवसाय हो। खानाको हाइजिनमा ख्याल गर्छाैं। किचेनमा हाम्रो फोकस छ,’ उनी भन्छन्, ‘खानाको गुणस्तर साथै होटलको कोठाको मूल्य नियन्त्रणका लागि पनि अनुगमन भइरहेकाे छ।’
पर्यटकलाई सहज र सस्तोमा रम्न पाउने बनाउन महोत्सवले भूमिका खेल्ने भट्टराईले बताए।
पोखराको गौरव मात्र नभई नेपालकै ब्राण्डको रुपमा सडक महोत्सवलाई परिमार्जन गर्नुपर्ने आयोजक रेबानका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण बरालको भनाइ छ।
महोत्सवमा सहभागि हुने पर्यटकको संख्या यकिन नभएपनि झन्डै ५ लाखभन्दा बढीले अवलोकन गर्ने संयोजक बराल बताउँछन्। पर्यटकको सुरक्षार्थ सिसी क्यामेरा, सुरक्षाकर्मी र स्वंसेवक परिचालन भएका छन्।
पर्यटक भित्रिएसँगै फेवाताल किनारका होटलमात्र होइन, बेगनास, सराङ्कोट, महेन्द्रपुल, पृथ्वीचोकका होटल पनि कम्तीमा ३ दिन भरिभराउ हुने उनको विश्वास छ।
तस्बिरहरु: ईश्वर देवकाेटा/देश सञ्चार