
धनगढी– भ्रमण वर्ष २०२० लाई लक्षित गरी सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
धनगढी उपमहानगरपालिकाले भ्रमण बर्ष २०२० लाई सफल पार्न सुरुका ५ दिन धनगढी उपमहानगर भित्र भ्रमण गर्ने पर्यटकका लागि निशुल्क बस सेवाको व्यवस्था गर्ने निर्णय गरेको हो।
सोमबार धनगढीका सरकारवालासँगको छलफलपछि भ्रमण वर्ष २०२० को सुरुको दिनमा नै सकारात्मक सन्देश प्रवाह गर्न नि:शुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ।
बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ घुमेर पुनः त्रिनगर भन्सारसम्म संचालन गरिने धनगढी उपहानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए।
‘पहिलो दिनबाट नै नेपाल भारत नाकामा पर्यटक सहायता कक्ष संचालन गर्ने तयारी धनगढी उपमहानगरपालिकाले गरेको छ’ मेयर वडले भने, ‘जनवरी १ का दिन नेपाल भित्रिने पर्यटकलाई नाकामा चिया तथा कफी खुवाउने, फूलमाला र खादाले स्वागत गर्ने योजना समेत बनाएका छौँ।’
त्यसैगरी धनगढीका पर्यटकियस्थलहरु, त्यहाँको दूरी, त्यहाँका विशेषताहरु, पर्यटकीय गतिविधी र महत्वहरुलाई राख्नेगरी सोसल मिडियामा पेज बनाउने, ब्रसर तयार गर्ने, नगरको सरसफाई गर्ने, धनगढीदेखि भारतको पलिया बजारसम्म भ्रमण वर्ष २०२० को सन्देश दिनेगरी साइकल यात्रा गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए।
धनगढी उपमहानगरपालिकाले प्रदेश तथा संघ सरकारले पर्यटक वर्ष २०२० सफल बनाउनका लागि गर्ने सबै गतिविधिमा सहभागिता जनाउने पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए।