
पोखरा– राष्ट्रिय गौरवका आयोजनामध्येकै रफ्तारमा निर्माण कार्य जारी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको पहिलो चरणको छाना हाल्ने काम सकिएको छ।
राष्ट्रिय (डोमेस्टिक) र अन्तर्राष्ट्रिय (इन्टरनेसनल) टर्मिनल भवन १४ हजार वर्गमिटर क्षेत्रफलमा कम्पोजिट स्ट्रक्चर (कंक्रिट र स्टिल)मा बनिरहेको हो।
पहिलो चरण अन्तर्गत स्टिल पाताले छाउने काम सोमबार सकिएको आयोजना कार्यान्वयन इकाईका उपप्रबन्धक तथा इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘टर्मिनल भवनको छाना तीन तहमा राख्नुपर्ने हुन्छ। अब दोस्रो तहमा ‘ग्लास उड’ सामग्री हुन्छ र अन्तिम तेस्रो चरणमा स्टिल पाता राखिन्छ’, उनले भने।
डोमेस्टिक र इन्टरनेसनल टर्मिनल उक्त क्षेत्रफलबाट पाटेसन गरेर उपयोगमा ल्याइनेछ। कम्पोजिट स्ट्रक्चर (कंक्रिट र स्टिल)मा बनिरहेको भवनको छाना हाल्ने काम सकिएपछि फिनिसिङ सुरु गरिने इन्जिनियर पौडेलले जानकारी दिए।
हालसम्म आयोजनाको ५३ प्रतिशत काम सकिएको छ। गत चैतमै २ हजार ५ सय मिटर लम्बाईकाे रन ‘वे’ काम सकिएको थियो। एप्रोन (पार्किङ एरिया) निर्माण र ९ सय मिटर लम्बाईको ट्याक्सी ‘वे’ निर्माणको कामसमेत सकिएको इन्जिनियर पौडेलले बताए।

रन ‘वे’ क्युरिङ गर्दै विमानस्थल आयोजनाका मजदुर । तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार
उनका अनुसार नाला, सिँचाई नहर ड्राइभर्सन लगायतको काम अन्तिम चरणमा पुगेको छ। ‘मुख्य पूर्वाधार निर्माण गर्ने काम अधिकांश सकेका छौँ,’ उनले भने, ‘फिनिसिङ, यन्त्र जडान र विद्युतीय काम बाँकी छन्।’
विमानस्थलको मुख्य कन्ट्रोल टावरको लागि बन्ने ८ तलामध्ये ७ औं तलाको काम अन्तिम चरणमा पुगेको उनले बताए। माथिल्लो तलामा भने स्टिलको काम हुने हुँदा टावर निर्माण छिट्टै सम्पन्न हुने इन्जिनियर पौडेलले जानकारी दिए।
‘अध्यागमन भवन, कार्गो भवन, उद्धार तथा अग्नि नियन्त्रण भवन र प्रशासन भवनको निर्माणको काम सकिएर फिनिसिङ गर्ने चरणमा छौँ,’ उनले भने।
पृथ्वीराजमार्गबाट टर्मिनल भवनसम्म पुग्ने ४ लेन सडक निर्माणको कामसमेत अन्तिम चरणमा छ। १ हजार १ सय मिटर लम्बाईको उक्त सडक कंक्रिट ढलान हुनेछ। बेस कोर्स, सब–बेस कोर्सको काम सकेर अन्तिम चरणको ढलान बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिए।
विमानस्थल प्रवेशद्वारबाट टर्मिनल भवनसम्म पुग्ने उक्त सडकलाई ग्रिनरी (दुबो तथा फूल) सहित निर्माण गरिँदैछ। त्यसका लागि लेनको बीच खण्डमा ३ मिटर भाग छुट्याइसकिएको इन्जिनियर पौडेलले बताए।
आसपासको भागलाई पनि ग्रिनरी बनाउने योजनासाथ माटो कटान तथा फिलिङको काम चालु अवस्थामा रहेको उनले सुनाए। विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड’ले गरिरहेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ) मापदण्डमा तयार भएको विमानस्थलको डिजाइन ‘फोर डि’ हुने आयोजना पक्षले जनाएको छ।
झन्डै २२ अर्ब चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको विमानस्थल आगामी सन् २०२१ जुलाई १० (विसं २०७८ असार २६) सम्ममा निर्माण सक्ने सम्झौता छ।