सिमकोट-सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हिमाली जिल्ला हुम्लामा भने एकजना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नु परेको छ।
पैदल यात्रुहरुले आउजाउ गर्नै पर्ने तर झोलुङ्गे पुलको व्यवस्था नभएपछि छोटो दूरीमा आउजाउ गर्न व्यक्तिले निर्माण गरेका तुइनहरु बाध्य भएर तर्नु पर्दा यात्रुहरुले शुल्क तिर्नु परेको हो।
खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडामा तुइन तरेको एक सय रुपियाँ शुल्क तिर्दै आएको पैदल यात्रु काली बिकले बताए। कर्णाली करिडोर अन्तर्गत पर्ने खार्पु सुनखाडा खण्डको बोक्चे गौडामा सडक निर्माणका क्रममा बाटो अवरुद्ध भएपछि पैदल पात्रुहरु चर्को शुल्क तिरेर तुइन चढ्न बाध्य भएका छन्।

बोक्चे गौडामा असजिलो बाटो पार गर्न कठिन भएपछि स्थानीयले व्यक्तिगत रुपमा निर्माण गरेको तुइन तर्न पैसा तिर्नु परेको हो। यहाको कर्णाली नदीमा अहिले पनि आधा दर्जन भन्दा बढी स्थानहरुमा तुइन पर्नु पर्ने अवस्था रहेको स्थानीयहरुले गुनासो गरेका छन्।
तुइनमा एकतिर आर्थिक व्ययभार त छ नै। अर्कोतिर ज्यानको जोखिम पनि उत्तिकै मोलेर यात्रुहरुले यात्रा गर्नु परिरहेको छ। अप्ठ्यारो बाटोमा जोखिम मोलेर हिड्न नसकिने, घुमेर जान लामो बाटो हिड्नु पर्ने भएपछि पैदल यात्रुहरु बाध्य भएर पैसा तिरेर तुइन चढ्नुको अन्य विकल्प नभएको स्थानीयको भनाइ छ। उनीहरुका अनुसार उक्त तुइनमा दैनिक ठूलो संख्यामा यात्रुहरुले तर्दै आएका छन्।
यस्तै सामान वा भारीलाई तुइनमा तार्नु पर्यो भने प्रति भारी पचास रुपियाँ तिर्नु पर्दै आएको स्थानीय बरी महताराले बताए। उनले भने, ‘तुइन तर्न मानिसले मात्र पैसा तिर्नु परेको छैन, सामान तारेको पनि प्रति भारी पचास रुपियाँ तिर्नु पर्ने बाध्यता हुम्लाबासीलाई छ।’

उनका अनुसार कर्णाली नदी माथि सर्केगार्ड गाउँपालिका वडा नम्बर-२ को रिप घाटमा निर्माण भएको तुइनमा चार भारी दाउरा तारेको दुई सय रुपियाँ शुल्क तिर्नुपर्छ। गाउँमा दाउराको समस्या भएपछि कर्णाली पारीको ननमा टिपेका दाउरालाई तुईन तारेर ल्याउन सो शुल्क तिर्नु परेको उनको छ।
गत वर्ष खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारबाट पालिका अध्यक्ष कर्ण बहादुर रावल दैनिक तुइन तरेर गाउँपालिकामा आउ-जाउ गर्नु पर्ने भन्ने समाचार बाहिर आएपछि प्रधानमन्त्री कार्यालयबाट पुलको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता अनुसार पुन निर्माणको योजना परे पनि एक वर्षमा पुल बनाउन परेको योजनाले समेत अहिलेसम्म कार्यान्वयन चरण आएको छैन।
एकघण्टा टाढाको दूरीमा कर्णाली नदी माथि झोलुङ्गे पुल भएपनि मानिसहरु समय धेरै लाग्ने हुँदा त्यसतर्फ जान मन गर्दैनन्। अधिकांस रिप गाउँबासीले सोही बनबाट दाउरा ल्याउने गर्छन्। दुई वर्ष अगाडि सो घाटमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारसँग माग गर्दा कुनै सुनुवाई नभएको स्थानीय धच फडेराले बताए।

कतैबाट पुल निर्माणको पहल नहुँदा शुल्क तिरेर तुइन चढ्नु स्थानीय रिपबासाीको बाध्यता भएको छ। तल्ला तहहरुमा जनताको मागको सुनुवाई नभए पछि फडेराले अब केन्द्र सरकारको ध्यान जानु पर्ने पनि बताएका छन्।
यस्ता तुइन हुम्ला जिल्लामा पर्ने कर्णाली नदीमा मात्र खार्पुनाथ र सर्केगार्ड गाउँपालिका मात्र आधा दर्जन स्थानमा सञ्चालनमा रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































