नेपालमा खुशी खोज्ने अष्ट्रेलियन कलानी गाकोन

विदेशिएका नेपालीलाई स्वदेश फर्काउन खोज्ने कलानीसँगको एक भेट

विदेशिएका नेपालीलाई स्वदेश फर्काउन खोज्ने कलानीसँगको एक भेट
+
-

निर्धारित समयभन्दा अलि ढिला भएको थियो। हामी उनले बोलाएको ठाउँ पुग्यौँ, ‘सोह्रखुट्टे चोक’ । उनले सहजै अनुमान लगाए, हामी सोह्रखुट्टेबाट ओरालो टुंगिएपछि आउने लस्सी कर्नर नजिकै छौँ। फोनमै उनले बाटो पारीको ट्याक्सी स्ट्याण्डतिर हेर्न सुझाए, उनी पछाडि हात हल्लाउँदै रहेछन्।

किम्फ चलचित्र महोत्सवको अन्तिम दिन स्टेजमा पुरस्कार थाप्दा उनको अनुहार मैले देखिसकेको भएर चिन्न धेरै गाह्रो भएन। अन्तर्राष्ट्रिय विधामा दोस्रो स्थानको पुरस्कार थापेपछि उनले नेपालीमा भनेका थिए, ‘यो पैसाले धेरै पुस्टकारी आउँछ होला है !’

चार वर्षदेखि यही ठाउँमा छन् उनी, यहाँको हरेक चोक गल्ली उनका लागि नौलो छैन। ‘यस्तै छ नेपालमा।’

राम्ररी नै बोल्छन् नेपाली,

मैले ‘एकै छिन् ढिला भयो, सरी’ भनेँ ।

उनले खिस्स हाँसेर जवाफ फर्काए, ‘नेपाली टाइम’

उनको नेपाली समयप्रतिको बुझाई र जवाफले मनमा चिसो बनायो।
….

   कुराकानी सुरु गर्दा अभिवादन गरे, तामाङ लवजमा, ‘ल्हासो, फ्याफूल्ला सबैलाई । मेरो नाम कलानी हो, म त अष्ट्रेलियाबाट आएको मान्छे ! यहाँको बसाईमा मैले धेरै चाखलाग्दा र सुन्दर कुराहरुको अनुभूत गरेँ। अहिले म काठमाडौँमा छु।’

उनको नेपाली नाम पनि छ, ‘रोशन लामा’ नुवाकोटमा बस्दा उनलाई त्यहीँका गाउँलेले यो नाम राखिदिएका रहेछन्, फेसबुक प्रोफाइल हेर्दा उनले ब्राकेटमा नेपाली नाम राखेका छन् ।

तर यो नाम उनलाई बोल्न मन छैन रे। किनकी उनलाई यो नामले बोलाउँदा कस्तो कस्तो लाग्छ रे। भन्छन्, ‘मेरो आमाले राखिदिनु भएको नाम राम्रो छ।’ उनी नेपालीसँग घुलमिल हुन, बोल्न सजिलो बनाउन नेपाली नाम प्रयोग गर्छन्।

नेपाली भाषा राम्ररी बोल्ने र यहाँको समाजमा राम्ररी घुलमिल भएका कलानी योजना गरेर नेपाल आएका थिएनन् तर नेपाल आइपुगेको दिनको संयोग गज्जब थियो।

२०७२ सालको वैशाख २९ गते, सो महिना दोस्रो ठूलो भूकम्प आएको दिन थियो, उनले पहिलोपल्ट भूकम्पको अनुभव गरे।

‘म विश्वको यात्रा गर्न चाहन्थेँ, मलाई विश्वमा मानिसहरु कसरी बस्छन् भन्ने उत्सुकता हुन्छ र उनीहरुसँग सिक्न चाहन्छु त्यसलाई अनुभूत गर्न चाहन्छु।’

त्यही क्रममा उनी भारत आए अनि नेपाल।

‘अनेस्टली भन्नुपर्दा मैले इन्डियाको जिल्ला भन्ठानेको थिएँ, घुम्न जान्छु भनेर बसमा आउँदा सुनौली नाकामा भिजा चाहिन्छ भनेपछि मात्र नेपाल छुट्टै देश रहेछ भन्ने थाहा पाएँ।’

उनलाई भुँईचालो गएको छ भन्ने सुनेपछि नेपाल आउन मन लागेछ।

हाँस्दै उनी भन्छन्, ‘तर यो अद्भूत छ, मैले केही पनि आशा गरेको थिइन, त्यसैले मलाई एकदमै रमाइलो लागिरहेको छ।’

अनि भुँईचालोको अनुभव यस्तो थियो, ‘म फुड प्वाइजन भएर सुतिरहेको थिएँ। अघिल्लो दिन राती एक क्यान बियर खाएको थिएँ। भँुईचालो आउँदा मलाई रिंगटा लाग्यो। अनि मैले सोचे, ‘ट्रिप भयो’ कि क्या हो।

लाग्यो–होस गुमाईरहेको छु र जीवनको अर्को आयाममा जाँदैछु। तर एकछिनपछि बाहिर निस्केँ अनि थाहा भयो, भूकम्प रहेछ। अष्ट्रेलियामा कहिले पनि यस्तो भएको छैन।’
……

उनले एक्लै यात्रा गर्न थालेको धेरै वर्ष भयो, ‘परिवार, साथीभाइसँग यात्रा गर्नु धेरै राम्रो हो । तर एक्लै घुम्नु भनेको आफूलाई खोल्नु हो, खुल्ला ब्रम्हाण्डको अध्ययन गर्नु हो। नयाँ मान्छेलाई नयाँ मोडमा भेट्नु, आहा ! यसले मानिसलाई प्रशन्न बनाउँछ।’

एक्लै हिँड्न के कुराले प्रेरणा दिन्छ ?

यसको जवाफ उनीसँग छैन।

भन्छन्, ‘केही कुरा मेरो मुटुमा छ, यसलाई म व्यक्त गर्न सकिरेको छैन। जे होस्, यो गहिरो कुरा छ, मलाई मानिसले के सपना देख्छन्, जीवनमा के चाहन्छन् भन्ने कुरा थाहा पाउन एकदमै धेरै मन लाग्छ। एक चलचित्रकर्मीको हिसाबमा म विषयमा धेरै मोहित भएको छु।’
हामी बल्ल विषवस्तुमा प्रवेश ग¥यौँ,

‘म यो विश्वलाई चलचित्र निर्माणको माध्यमबाट बुझ्न र अनि शायद बुझाउन चाहन्छु।’

उनको दिमागमा के–के कुरा खेल्छन्, उनी त्यसको चुरो पत्ता लगाउन चाहन्छन् अनि त्यसलाई उतार्न चाहन्छन्।

उनलाई अन्तरमनले केही भन्छ, यसै क्रममा उनी क्यानडा पुगे ६ महिना बसे। उनलाई त्यहाँको विश्वविद्यालयले पत्र पठायो, त्यही अध्ययन गर्नको लागि तर उनी त्यहाँबाट अन्त सरे। अनि विभिन्न देश हुँदै भारत अनि नेपाल आइपुगेका कलानी गाकोनले आफ्नो देश छोडेको ७ वर्ष भयो।

यसको मतलब उनी घरै नगएको होइन ।

‘आमाको याद आउँछ नि, झन धेरै हजुरआमाको सम्झनाले सताउँछ। आफूलाई रोक्न सक्दिन अनि घर जान्छु।’

उनलाई परिवारले बुझ्छन्। सन्तान साथ होस् भन्ने त कुन अभिभावकलाई लाग्दैन र ! तर कलानीले तय गरेको यात्रालाई कदर गरेका छन्।
उनी नेपालमा ४ वर्षदेखि यत्तिकै बसिरहेका भने होइनन् भन्ने कुरा माउनटेन फिल्म फेस्टिबलमा उनले बनाएको ‘डकुमेन्ट्री’ ले पाएको पुरस्कारले देखाउँछ।

अहिले पनि उनी नेपाल डकुमेन्ट्री बनाउनकै लागि बसिरहेका छन्।

उनलाई आफूले क्यामरासँग सहकार्य गर्नुपर्छ भन्ने कुरा सात वर्षको हुँदा नै अनुभूत भयो।

उनीमा क्यामरा चलाउने रहरको बिज यसरी रोपियो,

हजुरबुवासँग गाउँ घुम्न जाँदा हजुरबुवाले लुकेर केही तस्बिरहरु खिचेका थिए। केही भिडियो रेकर्ड गरिएको थियो।

घरको ठूलो टेलिभिजन स्क्रिनमा हेर्दा उनी दंग परे, जीवनमा केही स्वाद चाख्न पाए। ती साना भिडियोले उनमा एक किसिमको लगाव भरिदियो, उत्साह थपिदियो।

बिहान उनी यस्तै सपनाका साथ बिउँझिन थाले, १४ वर्षदेखि आफ्नो सपनाको पछि लाग्न थाले, अहिले २४ वर्षका भएका छन्।

हुन त हजुरबुवा पनि प्रोफेसनल फोटोग्राफर थिएनन्, तर उनले कलानीको इच्छालाई अंकुराउन मदत गरिदिए।

परिवारको उनको सपनामा हस्तक्षेप गरेनन्,

‘भाग्य नै मान्नुपर्छ हामी पश्चिमाहरुले खाना, राम्रो कपडा, स्वास्थ्य जस्तो आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्दैन। त्यसैले परिवारले हाम्रो करियर सोच्नुपर्दैन, राम्रो पढाउने अनि राम्रो देशमा पठाउने भन्ने बारे सोच्दैनन्।

हामीलाई राम्रो रोजगारी गरेर घरमा पैसा पठाएर बुवा आमालाई मासु भात खुवाउनु पर्छ, राम्रो घरमा राख्नुपर्छ भन्ने खालको सोच हुँदैन।
बालबच्चालाई गरिने माया उस्तै हुन् तर बालबालिकासँग राखिने अपेक्षा फरक हुन्छन्।’

‘हजूरबुवाले हातमा क्यामरा थमाउनुभयो, अनि म स्कूलको समयमा पनि क्यामरा बोकेर सानो सानो कथाहरु बनाउन थाले, यो क्रम अहिलेसम्म निरन्तर चलिरहेको छ।’

पहिलोपल्ट फिल्म बनाउँदा उनी जम्मा ९ वर्षको थिए। भिडियो बनेकोमा उनी प्रशन्न थिए त्यसैले, ‘सिडि’ बनाएर साथीलाई घरमा लगेर बाँडे, पार्टी नै गरे।

स्कूल पछि पढाईलाई निरन्तरता दिएनन्, ‘मलाई धेरै विश्व विद्यालयले स्कलरसिपको अफर गरेका थिए। किनभने म खत्रा विद्यार्थी थिए।’

पढाईमा उनी एकदमै तल्लिन थिए, जुन कुरा अहिले उनलाई सामान्य लाग्दैन, ‘म केही कुरामा पछुताउछु। हप्ताको छुट्टी होस् अथवा लामो बिदा म कहीँ नगई पढेर मात्र बस्थे। मेरो साथीहरु घुम्न जान्थे, साथी भेट्न जान्थे तर मेरो सबै कुरा छुट्यो।’

बाल्यकालमा पढ्नु पनि थियो, साथीसँग बाहिर निश्कनु पनि थियो। दुबै कुरा एकैपल्ट संभव भएन अनि सबैभन्दा ठूलो कुरा आफू खुशी हुनु थियो, उनी अहिले त्यही गर्दैछन्।

हाँस्दै उनी भन्छन्, ‘अरु के चाहियो र जीन्दगीमा?’

व्यवसायिक रुपमा भने आफ्नो यात्रा अझै सुरु भइनसकेको उनी बताउँछन्,

‘यो क्षेत्रमा जति मेहनत, समय अनि लगानी गरिन्छ, यो बाहेक अर्को क्षेत्र, जुत्तामा पालिस गर्ने काम गरको भएपनि त्यसको रिटर्न आइसक्थ्यो। म अझै संघर्ष गर्दै छु, प्रोफेसनल हुन पाएको छैन। म यो क्षेत्रमा नै समर्पित भएर लागेको छु, १७–१८ वर्षको उमेरदेखि अहिलेसम्म, केही हुन्छ भन्ने आशा गरौँ।’

उनी विश्व यात्रामा छन्, आफ्नो यात्रालाई यसरी परिभाषित गरे,

‘यात्रा गर्न ठाउँ हेर्नु, मन्दिर हेर्नु अथवा कुनै ठाउँको प्राकृतिक दृश्यावलोकन गर्नुले प्रेरणा दिने होइन, यो एउटा अवसर हो, विश्वका विभिन्न ठाउँको मानिससँग भेट्नु र साझा मानवताको अनुभूति गर्नु। मायाको अनुभूति गर्नु हो। म फरक परिवेशमा हुने साझापनलाई बुझ्न अनि देखाउन चाहन्छु। जसले हामी फरक भए पनि उस्तै छौँ भन्ने भावना जगाओस्।’

नेपालीको ‘सेन्स अफ कनेक्टिभनेस’ यो व्याख्या गर्न सजिलो छैन तर नेपालीहरुमा यो भावना भित्रैबाट छ। एउटा घरमा सानो बच्चा जन्मदा पनि धेरै परिवार खुशी हुन्छन्। पल्लो घरको पसले बच्चा हेर्न आइपुग्छन्। यो बोलीमा व्यक्त गर्न सँकिदैन। यो कुनै व्यवस्था वा अवधारणा हैन, यो पहिलादेखि नै चलिआएको छ।

युरोपमा अरुको बच्चालाई छोयो भने प्रहरीलाई खबर गरिन्छ।

युरोप नराम्रो छ भनेको हैन, त्यहाँ पनि धेरै राम्रा चिजहरु छन्, तर जब म त्यहाँ जान्छु यो मिलनसार, टचहुड छुट्छ। खाली लाग्छ।’

उनी अलि गम्भीर सुनिए, ‘मलाई लाग्छ, नेपालबाट जति पनि विदेश जान्छन्, उनीहरुले यो कुरा मिस गर्छन्। नेपालबाट अष्ट्रेलिया जानेहरुको पनि नेपाली नै साथी, नातागोता हुन्छ। नेपाली खाना खान्छन्। नेपाली नै सर्कल हुन्छ तर उनीहरु मात्र अष्ट्रेलियाको वातावरणमा हुन्छन्। यस्तो वातावरण पाउनुमा म आभारी छु।’

यहि व्यवहार र सँस्कारले उनलाई नेपालमा अझै अल्झाएको हो त ?

‘म यहाँ काम गरिरहेको छु। मेरो मन खुशी छ र म काम गर्न रमाइरहेको छु।’

यही कुरा उनले ‘जर्नि टु सेन्टर अफ द हार्ट’ मार्फत प्रस्तुत गरेका छन्। यो चलचित्र बनाउनको लागि उनलाई साढे ३ वर्ष लाग्यो ।

नेपालबाट राम्रो रोजगारी र सुन्दर भविष्यको सपना बोकेर हिड्ने नेपाली धेरै छन्। यूरोपमा राम्रो र सुखी जीवनको लालचमा जाने जमातले वास्तविकता त्यहाँ पुगेपछि मात्र थाहा पाउँछन्।

यो वृत्तचित्र भने, बाह्य मुलुकबाट नेपालमा आएर व्यवसाय गर्नेहरुसँग सम्बन्धित छ।

कलानीले थपे, ‘खुशी, सुन्दर अनि सुखी जीवनको आशामा धेरै मानिस यो देश छोड्दै छन्, कल्पना गरौँ नेपालीले विदेशमा सिकेको ज्ञान र सीपलाई यही देशमा प्रयोग गरे भने यो देश कस्तो हुन्छ होला ? नेपाली पढाईको लागि विदेश जानु र उतै बस्नु ठूलो बिछोड हो।’ यही सेरोफेरोमा उनको चलचित्र बनेको छ।

उनी यसलाई हलमा देखाउने प्रयत्नमा छन्।

उनलाई लाग्छ विदेशीएका नेपाली नेपाल नफर्कनुको एउटा कारण पश्चिमा देशमा जीवनशैलीको बारेमा यथार्थभन्दा बढी सुन्नु, कल्पना गर्नु र अवधारणा बनाउनु हो। उनले नेपाललाई ‘डाहा गर्ने स्वाभाव’ भएको समाज भन्छन्, जो अग्लो भवनको अगाडि मख्ख परेको सेल्फीमा दंगिङ्छन्, त्यो भित्र लुकेको दुखबाट उनीहरु अन्जान हुन्छन्। जब भोगिन्छ, त्यसलाई सबैको सामु स्वीकार्न गाह्रो हुन्छ। अनि जीवनभर यसैलाई टाल्ने प्रयत्नमा नेपालीहरु उतै हराउँछन्।

‘जो नेपाली युरोपियन देश लगायत अन्य ठाउँमा पुगेका छन्, उनीहरुले राम्रो शिक्षा, स्वास्थ्य सम्बन्धी सुविधा सबै पाउन्, उता बस्दा केही समस्या छैन, तर देशको लागि आफ्नो बुद्धिको प्रयोग गरुन् यही मेरो चाहना छ।’

त्यसैले अहिले उनी तीनवटा अरु प्रोजेक्टमा काम गरिरहेका छन्।

– ‘स्टोरीज अफ माइग्रेन्ट वर्कर्स अराउण्ड द वल्र्ड’, यो वृत्तचित्रका लागि उनी विश्वका धेरै देशहरु गइसकेको छन्, जहाँ नेपालीहरु काम, पढाइको लागि पुगेका छन्। झुट सूचना यहाँ फैलिएको छ।
– ‘हिमाल आरोही महिलाको वृत्तचित्र’ । श्रृजना तामाङ विश्वमा भएका १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो महिला बन्ने प्रयत्नमा छिन्। उनी आफ्नो तामाङ समुदायमा उदाहरण पनि बन्दैछिन्।
– ‘स्टोरीज अफ डाइङ ल्याङ्ग्वेजेज इन नेपाल’ । हामी यसलाई भुल्दैछौँ, यदि हामीले भाषा भुल्यौँ भने हामी हाम्रो कथा बिर्सन्छौ। यो दुखद् कुरा हो।

उनी थप्छन्, विश्व एउटै गाउँ जस्तो बन्न लाग्दा नेपालले आफ्नो मौलिकता गुमाउनु भनेको राम्रो हैन। म यो भाषा हराउनु अगाडि नै कथा बनाउन चाहन्छु यो मानवशास्त्रीय अध्ययन हुनेछ।

नेपालमा बस्दा उनका आँखाले ‘हराउँदै गरेको सँस्कृति, पारिवारिक विखण्डन’ दखेको छ। यसको महत्वपूर्ण कारण उनले बसाईसराईलाई मानेका छन्। यदि शिक्षित जनसमुदाय यहाँ फर्केर आएनन् भने यो अझै बिग्रदै जान्छ।

उनले यसलाई पश्चिमी देशको जीवनशैलीसँग कुनै बिन्दुमा तुलना पनि गरिरहेका छन्।

‘केही भावनात्मक कुराहरुको त्यहाँ कमी छ, यो बिलाउन दिनु हुँदैन। म मानिसलाई घर फर्काउन चाहन्छु।’
…..

‘जर्नि टु द सेन्ट्रल अफ द हार्ट’ बनाउन उनलाई गाह्रो भयो, उनकै लवजमा भन्दा, ‘लास्टै गाह्रो भयो।’

‘साँच्चिकै, तीन वर्ष लाग्यो, पैसा पनि थिएन, क्यामरा भाडामा लिएको थिएँ। म्यानपावर पनि थोरै। क्यामराको भाडा तिरेको समय त्यही दिन सकिँदै थियो, म एकदम बिरामी थिएँ। क्यामरा समात्दा भुनुन्नँ रिंगटा लाग्यो।’

तर रहरको अगाडि यी कुराको के अर्थ ?

‘इनडिपेन्डेन्टली डकुमेन्ट्री बनाएर पैसा कमाउने आइडिया धेरै नै गाह्रो कुरा हो, मैले मेरो विदेश बसाईमा केही पैसा कमाएको थिएँ, यसले मलाई सहयोग गरेको छ।’

उनले आफ्नो कुरा सक्काउन लाग्दा उनले नेपालीलाई कस्तो राम्ररी अध्ययन गरेछन् जस्तो लाग्यो। नेपालका मानिस सुखी जीवन खोज्न आफ्नो ठाउँ छोड्दैछन्, विदेशीहरु समुदाय खोज्न हिँड्दैछन्। यी दुई विषयको द्वन्द्वलाई उनले समेट्न खोजेका उनको प्रयास स्थीर छैन।

तस्बिर : कलानीको फेसबुकबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?