
सिमकोट-हुम्ला माघ महिना लागेसँगै हुम्लामा हिमपात फेरि सुरु भएको छ । बुधबार राती अबेरसम्म हावाहुरी लागे पछि बिहीबार बिहानबाट हिमपात सुरु भएको हो।
हिमपात दिन भरि भै रहेकोले जमिनमा हिउँ जमेको स्थानीय कुल बहादुर रावतले बताए। जमिनमा चार इन्चीसम्म हिउँ जमेको र सबैतिर जमिन सेताम्मे देखिएको छ। हिउँ परि रहेको कारण बिहीबार दिउसोको तापक्रम माईनस छ डिग्रीमा झर्दा चिसो भने अत्याधिक बढेको छ।
मानिसहरुलाई घर बाहिर आउजाउमा पनि कठिन भएको छ । कार्यालयहरुमा पनि कर्मचारीहरु आगो तापेर कार्यालय कुर्ने काम गरि रहेका थिए। सेवाग्राहीहरु धेरै कम आएको सिमकोट गाउँपालिकाले जनाएको छ।
मानिसहरुले पशुबस्तु घर बाहिर निकाल्न सक्नु भएको छैन। घाँसपात र पानी पनि घोठमै दिने गरिएको छ । यो हिमपात सिमकोट गाउँपालिकाको उच्च क्षेत्र र नाम्खा गाउँपालिका भरि नै बढी हिउँ परि रहेको छ।
अघिल्लो हिमपातबाट सम्पर्क बिहीन भएको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी अझै सम्पर्क आउन सकेको छैन । यो हिमपातले अझै केही समयसम्म सम्पर्कमा आउन कठिन हुनेछ।
यो हुम्ला जिल्लाको छैटौ पटकको हिमपात हो । हिमपात भै रहेको कारण स्थानीय प्रशासनले सबैलाई आफ्ना सुरक्षाका ब्यबस्था गर्न र साबधानी अपनाउन आग्रह गरेको छ । एक गाउँबाट अर्को गाउँ जान एकल रुपमा नहिडी साथीको ब्यबस्था गर्न समेत प्रशासनले आग्रह गरेको छ।
यसैबिच बिहानैबाट हिमपात भएपछि हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अबरुद्ध भएको छ। हिमपात भै रहेको कारण सिमकोट बिमान स्थल हिउँ जमेर सेताम्मे भएको कारण हवाई सेवा अबरुद्ध भएको हो।
सीता, तारा र समिट एयरका जहाजहरुले एक दर्जन उडान भर्ने तालिका भएपनि सबै उडान अबरुद्ध भएका छन् । यसले यात्रु तथा काग्रोको सामान ढुवानी हुन सकेन।