
धनगढी-सुदूरपश्चिम प्रदेश सभाको मंगलबारको बैठकमा विवादास्पद एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धी व्यवस्था गर्न बेको विधेयक २०७६ पेश गरिएको छ।
प्रदेशभरीका पत्रकारले गम्भीर रुपमा असहमति जनाएको विधेयक मंगलबारको प्रदेश सभा बैठकमा प्रदेशको सञ्चार क्षेत्र समेत हेर्ने जिम्मेवारी रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले पेश गरेका हुन्। मंगलबारको सभा बैठक यही विधेयक पेश हुनासाथ सकिएको थियो।
सभामुख अर्जुन बहादुर थापाले सभाको अर्को बैठक माघ १३ गते बस्ने जानकारी दिएका छन्। राष्ट्रिय सभाको चुनावका कारण प्रदेश सभाको अर्को बैठक एक हप्ताको फरक पारी राखिएको छ।
एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धी विधेयक बारे प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पुगेर छलफल गरेको थियो भने अन्तिम पटक गत पुस मसान्तमा धनगढीमा नेपाल पत्रकार महासंघद्धका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा छलफल गरेको थियो।
यो विधेयकका कतिपय प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै पत्रकारहरुले दिएको सुझावका आधारमा परिमार्जन गरेर मात्रै प्रदेश सभामा पेश गर्न माग उठेको थियो। तर सरकारले पत्रकारहरुका तर्फबाट दिइएका सुझावहरुलाई नसमेटेरै पुरानै प्रावधानहरु राखेर विधेयक तयार गरी प्रदेश सभामा पेश गरेको छ। माघ १३ गतेको बैठकमा विधेयक माथि सैद्धान्तिक छलफल हुने र त्यसपछि दफावार छलफलका लागि विषयगत समितिमा पठाइने छ।
यसैबिच सुदूरपश्चिम प्रदेश सभाको दोेस्रो स्थापना दिवस मनाइएको छ। मंगलबार सभाको दोस्रो स्थापना दिवस मनाइएको हो। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो।
सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सरकार प्रदेशको विकासमा लागिरहेको बताए।उनले स्रोत साधनको सीमितता संगै कर्मचारीको अभावका वीच पनि प्रदेश सरकारले काम गरिरहेको बताए।
उनले आर्थिक अनियमितताका बिभिन्न प्रसंगहरु उठेपनि प्रदेश सरकार अनियमिता गर्नेहरु माथि कार्वाही गर्न प्रतिवद्ध रहेको बताए।कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता रण बहादुर रावलले प्रदेशको संरचना नयाँ भएकोले प्रदेश सरकार र प्रदेश सभाले बाटो बनाउने काम गर्नुपर्ने बताए।
उनले प्रदेश सरकारप्रति प्रहार गर्दै आर्थिक अनियमितताले सीमा नाघ्दा पनि सरकारको मौनता आश्चर्यजनक रहेको बताए। सभामुख अर्जुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उप सभामुख निर्मला बडाल जोशीले स्वागत मन्तब्य राखेकी थिइन्।