
धनगढी– क्षयराेगका बिरामी धेरै भएका दस जिल्लामा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर पनि परेका छन्। कैलालीमा प्रति एक लाख जनसंख्यामा एक सय ३५ जनामा र कञ्चनपुरमा प्रति एक लाखमा एक सय ६९ जनामा क्षयरोगको लक्षण देखिएको छ।
यो तथ्याङ्क हेर्दा देशभरमै क्षयरोगका बिरामी अत्याधिक भएका दस जिल्लामा कैलाली र कञ्चनपुर पनि परेका छन्।
नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०१४ र क्षयरोग निवारणको विश्वव्यापि रणनीति अनुरूप गुणस्तरीय सेवाको सर्वव्यापी पहुँचमा क्रमशः विस्तार र उत्तरदायी तथा समतामूलक एकीकृत स्वास्थ्य प्रणालीबाट क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिइएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार हरेक आर्थिक वर्षमा उही दरमा क्षयरोगका बिरामीको संख्या देखिँदै आएको छ। यो तथ्याङ्कले सुदूरपश्चिममा क्षयरोगीको संख्या एउटै दरमा रहिरहेको पुष्टि हुन्छ। यस्तै कैलाली र कञ्चनपुरमा पनि हरेक आर्थिक वर्षमा उही दरमा क्षयरोगीको संख्या भेटिने गरेको छ।
चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा कैलालीमा ३ सय ८७ जना, आर्थिक वर्ष २०७३/०७४ मा १२ सय १, आर्थिक वर्ष २०७४/०७५ मा १२ सय ५९ र आर्थिक वर्ष २०७५/०७६ मा १२ सय ४७ जनामा क्षयरोगको जीवाणु देखिएको थियो।
यस्तै कञ्चनपुरमा पनि आर्थिक वर्ष २०७३/०७४ मा ८ सय ७१, आर्थिक वर्ष २०७४/०७५ मा ८ सय ६, आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ७४ र चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ सय ९४ जनामा क्षयराेगकाे जीवाणु देखिएको छ। यो तथ्याङ्कले पनि कैलाली र कञ्चनपुरमा उही दरमा क्षयरोगीको संख्या देखिएको छ।
यस्तै सुदूरपश्चिममा चालू आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा ९ सय ९३ जना, आर्थिक वर्ष २०७३/०७४ मा ३ हजार ६२ जना, आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार एक सय ९० जना र आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार १ सय ७९ जनामा क्षयरोगको जीवाणु भेटिएको थियो। गत आर्थिक वर्षमा ११ सय २६ जना महिला र २ हजार ५६ जना पुरुषमा जीवाणु भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ।
औषधि सेवन गरे पनि क्षयरोगी भएको छरछिमेक वरपरका अन्य व्यक्तिमा रोग सरेको देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
‘रोग लागेर ज्यान गुमाएका व्यक्तिकाे सम्पर्कमा रहेका व्यक्तिमा वर्षाैपछि पनि क्षयरोगको लक्ष्यण देखिने गर्छ’, स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठ रोग निरीक्षक मनोज ओझाले भने, ‘बाजेमा देखिएको क्षयरोग वर्षौपछि नातिमा सरेको देखिन्छ। बाजेसँगको उठबसका कारण वर्षौपछि नातिमा क्षयरोगको लक्षण देखिन्छ।’