सिमकोट– हुम्लाको चंखेली गाउँपालिकामा पर्ने सलिसल्ला–देउसी सडक निर्माण भएको दुई वर्षसम्म पनि गाडी नगुड्दा स्थानीय बासिन्दा निरास भएका छन्।
चंगेली गाउँपालिकाका मुख्य स्थान जोड्ने उक्त सडकमा यातायात सञ्चालन गर्न सकिने गरी निर्माण भएपनि हालसम्म गाडी सञ्चालनमा नआएको चंखेली गाउँपालिका वडा नम्बर २ का स्थानीय हेमराज चौलागाईले बताए।
गाडी चढेर पालिकाको केन्द्र पिप्लाङ पुग्ने आफूहरुको चाहना पूरा नभएको स्थानीयको गुनासो छ।
दुई वर्ष अगाडी ग्रामीण पहुँच कार्यक्रम (र्याप) अन्तर्गत तेस्रो चरणमा स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको सलिसल्ला–देउली सडकलाई पाँच मिटर चौडा बनाएर गाडी सहज रुपमा सञ्चालन गर्न सकिने बनाएको भएपनि हालसम्म गाडी गुड्न नसकेको स्थानीयको भनाइ छ।
र्यापले ग्रामीण सडक निर्माण गर्ने लक्ष्य अनुसार पाँच वर्ष अगाडी सो सडक निर्माण गर्न सुरु गरेको थियो। निर्माण कार्य सम्पन्न गरेपछि कार्यक्रमले एक वर्ष अगाडी स्थानीय सरकारलाई हस्तान्तरण गरेको जिल्ला समन्वय समितिका इन्जिनियर देवी ऐडीले बताए।
१४ दशमलव पाँच किलोमिटर सडक गुणस्तरिय किसिमले बनेको भएपनि सडक सञ्जालको लिंक नहुँदा हालसम्म गाडी गुड्न नसकेको उनले बताए। सडक निर्माणको मापदण्ड अनुसार सडक निर्माण भएको छ।
अहिले सोही कार्यक्रम अन्तर्गत मुगुको गमगढीबाट चंखेली हुँदै देउलीसम्म सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस्तै अर्को कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलिसल्लसम्मको सडकमा पनि नेपाली सेनाले काम गरिरहेको छ।
यी दुबै सडक सञ्चालनमा आए दुई वर्ष अगाडी निर्माण भएको सलीसल्ला–देउली सडकमा गाडी गुड्ने छन्।

भर्खरै
लोकप्रिय






































































































































































































