
धनगढी– कैलालीका स्थानीय तहका प्रमुख–उपप्रमुखहरुको बैठकले मदिराको विक्री वितरणलाई व्यवस्थित बनाउनका लागि साझा कानुन ल्याउने निर्णय गरेको छ।
शनिवार धनगढीमा सम्पन्न कैलालीका १३ वटा स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागि बैठकले कानुन निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय मस्यौदा तयारी समिति गठन गरेको छ।
समितिको सदस्यहरुमा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहने निर्णय गरिएको छ।
समितिले एक महिना भित्र मस्यौदा तयार पारेर स्थानीय तहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए। उनले भने,‘साझा कानुन बनाउनु पर्ने भएकाले यसलाई जिल्ला सभाले पास गर्नेछ।’
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएकाले साझा कानुन बनाएर कडाई गर्नुपर्ने अवस्था आएको बताए। उनले भने,‘मदिराका कारण घरेलु हिंसाका घटना बढेका छन्, त्यही घटना आत्महत्यामा परिणत भएका छन्।’
नगरप्रमुख वडले कैलालीमा दैनिक जसो आत्महत्या र अपराधका घटना बढ्नुको पछाडी अनियन्त्रित मदिराको विक्री वितरण रहेको बताए। नगरप्रमुख वडका अनुसार कानुनमा मदिरा विक्री वितरण गर्ने समय, क्षेत्र लगायत मदिरा सेवन गर्नेका लागि समेत कार्डको व्यवस्था गर्ने गरी कानुन ल्याउन लागिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मदिराको विक्री वितरणलाई व्यवस्थित गर्ने, लागुपदार्थको दुर्व्यसनलाई न्यूनिकरण गर्नका लागि अभियान चलाउने लगायतका निर्णय भएको बताए। समन्वय बैठकको अध्यक्षता धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका थिए।