
धनगढी– सुदूरपश्चिम प्रदेशसभामा भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकल्प प्रस्ताव दर्ता गरेको छ।
कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले मंगलबार प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्। उक्त संकल्प प्रस्तावमा कांग्रेसकै प्रदेशसभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर राेकाले समर्थन गरेका छन्।
प्रदेशसभामा दर्ता गरिएको संकल्प प्रस्तावमा भनिएको छ, ‘भारत सरकारले केही महिनाअघि नेपालको सुदूरपश्चिममा पर्ने कालापानी क्षेत्रलाई भारतीय नक्सामा समावेश गरेको तथ्यप्रति हामी सबै जनप्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण भएको छ। सुगौली सन्धीले काली नदी पश्चिम भारतीय भूभाग भनी स्पष्ट किटानी गरेकोमा नेपालको सार्वभाैमिक सीमामाथि एकतर्फी रुपमा अतिक्रमण गरेको भारत सरकारको कदम दु:खद् एवं आपत्तिजनक छ।’
संकल्प प्रस्तावमा थप उल्लेख छ,‘भारतीय सरकारले हाम्रो भूमि अतिक्रमण गरिरहँदा नेपाल सरकार र प्रदेश सरकार मौन देखिनु दु:खद् विषय हो, तसर्थ यो प्रदेशसभा उक्त मिचिएको भूमि अविलम्व फिर्ता गराउन र राष्ट्रिय अखण्डतालाई जोगाउन दृढताका साथ यो संकल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले अविलम्व उक्त मिचिएको भूमि भारत सरकारको नक्साबाट हटाउन पहल गरोस् भन्न जोडदार माग गर्दछौँ।’