
काठमाडौँ – चीनबाट आयात रोकिएपछि लसुनको मूल्य आकाशिएको छ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएकाले लसुनको मूल्य वृद्धि भएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न असहज भएको हो।
उनले भने ‘कोराना भाइरसका कारण अहिले बजारमा लसुनको मूल्यमा वृद्धि भएको हो । नेपालमा सिजनमा मात्रै उत्पादन हुन्छ र त्यो पनि उत्पादन भएकै ठाउँमा खपत हुन्छ ।’
काठमाडौँमा पुस अन्तिम सातासम्म सुकेको लसुनको प्रतिकिलो थोक मूल्य २४५ रुपैयाँ हाराहारी रहेकोमा माघ चौथो साता ६५० रुपैयाँ पुगेको छ । चार सातामा लसुनको मूल्य ४१५ रुपैयाँले बढेको छ ।
भारतमा नै उत्पादन कम भएपछि भारत सरकारले प्याजमा रोक लगाए लगत्तै नेपालमा प्याजको मूल्य एक्कासी आकाशिएको थियो ।
विभिन्न कारणले खाद्यवस्तुको मूल्य वृद्धि हुदाँ उपभोक्ताहरु हैरान भएका छन् ।
उपनिर्देशक श्रेष्ठले जहिले उपभोक्ताहरुले मूल्यवृद्धिको मार खेप्नुको कारण नेपालको परनिर्भरता भएको बताए।
यस्तै गत आर्थिक वर्षमा भारत र चीनबाट ८७ करोड ५७ लाख रुपैयाँको ४८ लाख ४० हजार किलो लसुन नेपाल भित्रिएको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा १३ लाख ४०० किलो लसुन भित्रिएको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।