
धनगढी– सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका नौ वटै जिल्लाबाट एक साथ भिडियो कन्फ्रेन्स गर्न सक्ने डिजिटल प्रविधि जडान गरेको छ ।
नौ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले बुधबार सो भिडियो कन्फ्रेन्स प्रविधि उद्घाटन गरेका हुन् ।
प्रदेशसभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडि मोनिटर, अडियो सिस्टम र २० एमपिएरको इन्टरनेट जडान गरिएको छ ।
प्रदेशका सात पहाडी जिल्ला र कञ्चनपुर जिल्ला समन्वय समितिको हलमा समेत सोही प्रविधि जडान गरिएको छ । कैलाली जिल्ला समन्वय समिति प्रदेश सभा सचिवालयसँगै रहेको हुनाले कैलालीको टीकापुर नगरपालिकाको हलको सो प्रविधि जडान गरिएको छ ।
भिडियो कन्फ्रेन्स उद्घाटनमा पहाडका सात वटै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
प्रदेशसभा सचिवालयको भिडियो कन्फ्रेन्स हलमा सभामुख थापा लगायत प्रदेशसभा सदस्यहरुको सभागिता थियो । भिडियो कन्फ्रेन्स हलमा नौ स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको छ ।
सभामुख थापाले सो प्रविधिले प्रदेशसभाले सबै जिल्लासँग एक साथ गर्नुपर्ने छलफल आफ्नै हलमा बसेर सबैसँग गर्न सक्ने बताए । उनले प्रदेशसभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए ।
यसका साथै विपद्को बेलामा समेत सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) को सहयोगमा भिडियो कन्फ्रेन्स हल स्थापना गरेको हो।
प्रदेशसभा सचिवालयले युएनडिपिकै सहयोगमा प्रदेशसभाको गतिविधि युट्युवमा लाईभ गर्ने लगायतको डिजिटल प्रविधि प्रदेशसभामा जडान गरेको छ ।