प्रेमपत्र जस्तो कुनै “पत्र” हुँदैन। यसलाई दुई तरिकाले हेर्न सकिन्छ। एक, प्रेमपत्र जस्तो उत्कृष्ट र सुन्दर अरु पत्रहरु हुँदैनन्। दुई, प्रेमपत्र भन्ने कुनै पत्र नै हुन सक्दैन किनभने प्रेम जस्तो कुरा कुनै पत्रमा लेखेर लेखिने होइन। शब्दहरुमा व्यक्त गर्न सकिन्छ भने त त्यो प्रेम के प्रेम? प्रेम त त्यो हो जहाँ शब्दहरु सकिन्छन् र केवल आँखाहरु बोल्दछन्। या त साधिन्छ मौन।
प्रिय! जीवन एउटा नदी हो। यसका दुई किनारा हुन्छन्। नदीको एक मात्रै किनारा हुनु असम्भव छ र तिनै दुई विरोधाभाषी किनाराहरुको बिचबाट सतत बग्ने नदी नै जीवन हो। जीवनमा कयौँपटक विकल्पहरुको छनोट गर्नुपर्ने हुन्छ र समयानुसार कहिले कुन र कहिले कुन विकल्पहरुलाई छान्दै अघि बढिरहनुपर्छ। चल्नुको नाम जीवन हो। मैले समयको यही नियमलाई स्वीकार गरेर विवाहको विकल्प छानेँ र अघि बढ्दै गएँ। हाम्रा संस्कारहरुले जीवनलाई एउटा ‘सेप’ दिएका छन्। एउटा आकार दिएका छन् जसले विवाहेत्तर जीवनको पुरै रुपनक्शा नै बदलिदिन्छन्।
म त्यही बदलिएको नक्शामा उभिएर तिम्रा लागि यो पत्र लेखिरहेकी छु। समझदार व्यक्तिहरु स्वयंलाई होइन, समयलाई बदल्ने सामर्थ्य राख्छन्। म शायद समझदार थिइनँ, त्यसैले समयलाई बदल्नुभन्दा स्वयंलाई समयानुसार बदल्दै गएँ। तिमी त समझदार छौ, तिमी समयलाई बदल्न सक्छौ र त विरहको समयमा सम्भालिएका छौ। यस्तो देख्दै गर्दा मलाई गर्व लाग्छ- अनि सोच्छु आखिर प्रेम कसको?
ज्ञानीहरु भन्छन्- ‘प्रेम पन्थ अति कठिन’। प्रेम यस्तो पगडंडी हो जहाँ प्रत्यावर्तनको कुनै बाटो हुँदैन। प्रेम गली अति सांकरी। यसमा होशियार भएर चल्नुपर्ने हुन्छ। ‘प्रेम फुल्दछ विरहमा’। नजिक रहनुले प्रेमको स्वाभिमानलाई आघात पुर्याउँछ। स्कुले दिनहरुमा रातभर व्याकुल भएर दिउँसो भेट्दाको खुशी सझिन्छौ? नदी किनारहरुमा उपहार लिएर भेट्नुको आनन्द सँगै रहँदा कहाँ पाइन्छ? प्रेम दूरतामा सुदृढ हुने सम्बन्ध हो। सँगै नहोउँला हामी तर सँगै नहुनुको अर्थ प्रेम घट्नु होइन। म त हरक्षण प्रेममा हुन्छु।
भन्छन्- ‘प्रेमको कुनै परिभाषा हुँदैन।’ के परिभाषा हुँदैन भन्नु पनि एउटा परिभाषा होइन र? मैले एउटा कथा पढिरहेको थिएँ, शायद रविन्द्रनाथ ठाकुरको हुनुपर्छ। प्रेमीले प्रेमिकाको ढोका ढक्ढक्याउँछ, प्रेमिकाले सोध्छे को हो? भनेर। प्रेमीले आफ्नो परिचय दिन्छ तर ढोका खुल्दैन। प्रेमी भौँतारिन्छ देश विदेश, ध्यान इत्यादि गर्छ र पुनः आउँछ प्रेमिकाको ढोका ढक्ढक्याउन र उही क्रम दोहोरिन्छ, प्रेमीले परिचय दिन्छ- ढोका खुल्दैन। फेरि केही समयपछि प्रेमिकाको ढोकामा आइपुग्छ र फेरि प्रश्नको सामना गर्छ? को हो? र, यसपटक उसको उत्तर हुन्छ- केवल तिमी, तिमीबाहेक केही छैन यसपटक ढोका खुल्छ। प्रेमको नाम हो समर्पण।
एकअर्काका हरेक खुशीमा खुशी हुन प्रेमले सिकाउँछ। अर्जुन रेड्डी र कबिर सिंह बन्ने होडमा यो पुस्ताले प्रेम बिर्सेर विकृति ल्याएको छ। आफैँलाई पीडा दिएर प्रेमको सम्मान हुँदैन। कुलत र कुपदार्थको सेवन स्वयंका लागि हानिकारक हुन्छ नै, साथै जो तिमीलाई प्रेम गर्छन्, उनीहरु पनि दुःखी हुन्छन्। आफ्नैलाई दुखाएर प्रेमको नाटक त के गर्नु?
हाम्रो पूर्वीय परम्परामा सुखान्त सँधै प्रिय हुन्छ तर वास्तविकता त दुःखान्तको हो। हामी बाँच्न सिक्दासिक्दै मर्छौँ। हामी बाँच्न नपाइकनै मर्छौँ। प्रेमले बाँच्न सिकाउँछ। प्रेमको स्वभाव हो फैलिनु। पीडाको स्वभाव हो खुम्चिनु। मलाई विश्वास छ- तिमी फैलिएर प्रेम भएर बाँच्ने छौ।
देशसञ्चारले हजार शब्दमा प्रेम लेख्नु भनेको छ, कसरी लेखिसकौँला र हजार शब्दमा? जीवनभर बोलेर पनि प्रेम सकिँदैन भने हजार शब्दमा यो ढाइ अक्षरी प्रेम कसरी अटाउला? यो बन्धनभित्र यसको सुवास कसरी रहिरहन सक्ला र? अनि यो बन्धन बाहिर गएर उड्ने मेरो हौसला पनि कहाँ छ र? म त तिमीलाई यसैको माध्यमबाट प्रेमपत्र लेखिरहेछु।
प्रेम मात्र यस्तो एउटा द्वार हो जसबाट हामी आफूबाट बाहिर निस्केर अनन्तको यात्रामा चरण राख्दछौँ। प्रेमले जो अनन्य छ, जो जगत हो, जो जीवन हो, त्यसलाइ जोड्छ।
बन्धनहरु यत्रतत्र सर्वत्र छन्। सामाजिक बन्धनहरुले हाम्रो सम्बन्धलाई देख्न रुचाउँदैन र सक्दैन पनि। हुन त फेरि मान्छे सामाजिक प्राणी हो। उसलाई बाँच्नलाई समाज चाहिन्छ। तर, यही समाज विरुद्धमा हुँदा भने सम्झौता गरेर अगाडि बढ्नुपर्ने हुँदो रहेछ। अझ हामी महिलाहरुलाई त यो बन्धन अझै कडा छ। यहाँ संस्कारको पहरा छ।
यो मैले तिमीसँगको अमिलनका लागि सोचेको कुनै चाल होइन, यो त हकिकत हो। यो हाम्रो वर्तमान हो। भूत र भविष्यमा जीवन बाँचिदैँन।
नयाँ-नयाँ युगल हुँदा एउटा जोस जाँगर आउँछ, हाम्रो प्रेमलाई संसारकै नमूना बनाउँछौँ। लैलामजनु या मुना मदनलाई फेल खुवाउँछौँ भन्ने तर वास्तविक जीवनमा भने त्यसो नहुने रैछ। हरेक दिन नयाँ नयाँ कुरा भाइरल हुने यो युगमा यस्ता हजारौँ मुनामदनहरु भए होलान् जो आफ्नो कथा सुनाउनै नपाई सकिएका छन्।
उर्दू साहित्यका एक शायर छन्- “वसिम वरेलवी।” उनी लेख्छन्-
वो दिन गये की मुहब्बत थी जान की बाजी
किसी से अब कोई बिछडे तो मर नहीं जाता।।
अब प्रेम प्रेम होइन, केवल एक आकर्षण र वासना बनेर रहेको छ। प्रेमपात्र बदलिरहन्छन् र खनिरहन्छन् हजार कुवाहरु जहाँ केवल माटो पाइन्छ प्रेमजल पाइँदैन। यस्ता क्षणिक सौन्दर्यले मोहित भएका वासनाहरु क्षणिक नै हुन्छन् जसले मृत्युसम्मको साथ दिन सक्दैनन् र ‘ब्लक’मा पुगेर सकिन्छन्। यस्तो सम्बन्ध हुनुभन्दा त नभएकै वेश होइन र?
मनको अध्ययन हजारौँ वर्षदेखि विचारक ऋषिमुनि, दार्शनिक र वैज्ञानिकहरुले गरिरहेका छन्। भन्छन्- हाम्रो शरीर यही मनको उपज हो। तर कोही भन्छन्- यो भौतिक शरीरको उपज नै मन हो। तर, प्रेममा यो मनको अस्तित्व छैन, किनकि प्रेम सोचेर या बुद्धिले गरिने होइन यो त हृदयबाट गरिने हो। प्रेम परिस्थितिमा परिचित हुन्छ। विकासवाद या बौद्ध नागार्जुनको प्रतीत्य समुत्पाद, उनीहरु भन्छन्- विकास विरोधले हुन्छ। दुई विरोधी तत्वहरु भएमात्रै विकास हुन्छ। आकर्षण विकर्षणको घच्चाघच्चीमा यदाकदा प्रेम पनि जन्मिन्छ।
प्रेम परमात्मासम्म पुग्ने बाटो हो। मीराको प्रेम त जगचर्चित छ। प्रेम भक्तिको सबैभन्दा आखिरी अवस्था हो। यही प्रेमको बोटमा परमात्माको सौन्दर्य फुल्दछ। प्रेमले स्वयंलाई बाहिर निकाल्छ। प्रेम मात्र यस्तो एउटा द्वार हो जसबाट हामी आफूबाट बाहिर निस्केर अनन्तको यात्रामा चरण राख्दछौँ। प्रेमले जो अनन्य छ, जो जगत हो, जो जीवन हो, त्यसलाइ जोड्छ।
आऊ हामी भूतका गल्तीहरुलाई बिसौँ र बनौँ प्रेममय। आखिर जीवनको लक्ष्य त्यही पूर्ण प्रेम हो।
अगर तलाश करुँ कोई मिल ही जाएगा
मगर तुम्हारी तरह कौन मुझ को चाहेगा ??

भर्खरै
लोकप्रिय






































































































































































































