
धनगढी– निर्माणाधिन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको म्याद दोश्रो पटक थपिएको छ।
सार्वजनिक खरिद नियमावलीको नवाैं संशाेधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाकोे म्याद दोश्रो पटक एक वर्षका लागि थपिएको हो।
व्यवसायीले मंसिरदेखि भएको लगातारको वर्षाका कारण काम गर्न समस्या भएको कारण देखाउँदै सडक आयोजनाको दोश्रो म्याद थपका लागि निवेदन दिएका थिए। जसलाई विभागले स्वीकृत गरेको ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए।
पहिलो पटक ६ महिनाका लागि थपिएको सडक निर्माण आयोजनाको मिति नियमावली संशाेधन हुँदा पुनः थपिएको एसीले बताए। ‘आठाैँ संशाेधनले ६ महिनाका लागि मात्रै म्याद थप गर्ने प्रावधान ल्याएको थियो’, कार्यालय प्रमुख एसीले भने, ‘निर्माण व्यवसायीले पनि त्यसै अनुसार कामलाई तिब्रता दिएका थिए। तर नवाैं संशाेधनले पुनः म्याद थप गर्न सकिने बाटो खुला गरेपछि व्यवसायीले दिएको दोश्रो म्याद थपको निवेदन एक वर्षका लागी स्वीकृत भएर आएको छ।’
पहिलो पटक म्याद थप हुँदा ६ लेन सडकको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद २०७६ मंसिर ६ र दोश्रो तथा तेश्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो।
सो समयमा लगातार हिउँदे वर्षा हुँदा व्यवसायीले काम गर्न नसकेको उनले बताए। ‘हामीले जेठ मसान्तसम्म जसरी पनि सडकको कालोपत्रे सक्ने गरी काम गर्न व्यवसायीलाई दवाब दिएका थियौँ’, कार्यालय प्रमुख एसीले भने, ‘तर दोश्रो पटक सडकको म्याद थप हुँदा कामको गति प्रभावित हुने देखिएको छ।’
निर्माण व्यवसायीले भने आफूहरु सुरक्षित बन्न दोश्रो म्याद थपका लागि निवेदन दिएको भएपनि तोकेको समयअघि नै काम सम्पन्न गर्ने दावी गरेका छन्। पहिलो खण्ड (मोहना–बोराडाँडी) सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सनका प्रो–प्राइटर ईश्वरी भट्टले जेठभित्रै सडक कालोपत्रे गरिसक्ने गरी सडकको काम अघि बढाइएको बताए।
‘मंसिरदेखि लगातार वर्षा हुँदा हामीले बनाएको योजना अनुसार काम गर्न सकेनौँ’, उनले भने,‘यस्तै अन्य कारणले हाम्रो योजना प्रभावित बने मंसिरसम्म काम गर्न सकिन्छ भन्ने सोचेर हामीले दोश्रो म्याद थप गरेका हौँ। कुनै समस्या नआए जेठमै कालोपत्रे सक्ने छौँ।’
दोश्रो तथा तेश्रो सडकखण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले कालोपत्रे बाहेकको सडक निर्माण कार्यलाई पूरा गर्न दोश्रो पटकका लागि म्याद थपको निवेदन दिएको बताए।
हामीले जेठ मसान्तसम्म सडक कालोपत्र गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘तर डिभाइडर, फुटपाथ, सडक पेन्टिङ र सर्विस ट्र्याक लगायतका काम बाँकी रहने र जेठपछि वर्षाले अवरोध गर्न सक्ने भएकाले म्याद थप गरिएको हो।’ उनले माघ अघि नै ६ लेन सडकको सबै काम सकिने दावी गरे।