सिमकोट– हुम्लामा फेरि हिमपात सुरु भएपछि चिसो बढेको छ। बिहानैबाट आकाशमा बादल लागे पनि अहिले बेलुकाबाट हिमपात सुरु भएको र चिसो अत्याधिक बढेको हो।
हिमपात सुरु भएपछि जमिनमा तीन इन्च हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णु बहादुर शाहीले बताए।

हिउँ परेपछि सबैतिर सेताम्मे भएको र तापक्रम पनि माइनस ६ डिग्रीमा झर्दा चिसो निक्कै बढेको शाहीले बताए। शिवरात्रि भएका कारण बिहान मानिसको चहल पहल शिव मन्दिर जाने बढी भएपनि हिमपात सुरु हुँदा सिमकोट बजारमा मानिसहरुको उपस्थिति निक्कै कम रहेको छ।

अग्ला क्षेत्रमा हिमपात बढी भएको छ। वनमा चराउन लगिएका पशुवस्तुहरु पनि हिमपात सुरु भएपछि दिउँसै घरमा ल्याइएकाे थियाे। हुम्ला जिल्ला नवाैं पटकको हिमपात हो। गत वर्ष फागुन पहिलो हप्ता ठूलो हिमपात भएको थियो।

हुम्लमा चैत्र महिनासम्म हिमपात हुने गर्छ। बिहानैको माैसम बदली र हिमापातको कारण हुम्ला जिल्लाको हवाई सेवा पनि अवरुद्ध भएको छ। नेपालगंज र सुर्खेतबाट एक दर्जन भन्दा बढी उडान भर्ने तालिका भएपनि हिमापतकै कारण कुनै पनि उडान हुन सकेन।

भर्खरै
लोकप्रिय






































































































































































































