काठमाडाैँ– चीनको वुहानबाट फैलिएकाे नोवेल कोरोना भाइरसले हाल दक्षिण कोरियाको थेगु प्रान्तमा महामारीको रुप लिँदैछ। हालसम्म दक्षिण कोरियामा पाँच सय जनाभन्दा बढीमा काेराेनाकाे संक्रमण देखिएकाे छ भने ५ जनाको मृत्यु भइसकेकाे छ।
राजधानी सियाेलबाट तीन सय किलोमिटर टाढा रहेको उक्त प्रान्तमा ठूलो संख्यामा नेपालीहरु पनि छन्।
आइतबार साँझ देशसञ्चारसँग कुरा गर्दै त्यहाँ रहेका एकजना नेपाली युवाले उक्त क्षेत्रमा नेपालीकाे पनि ठूलाे संख्या रहेकाे जानकारी दिए। परिवारका सदस्य आफ्नो स्वास्थ्यलाई लिएर त्रसित हुनसक्ने भन्दै उनले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरे।
उनी ३ वर्ष ५ महिनाअघि वैदेशिक रोजगारीका लागि ईपीएस प्रणालीबाट कोरिया पुगेका हुन्। आफू कोठामा बस्दा पनि पञ्जा र मास्क लाएर बस्ने गरेकाे उनले बताए।
रोजगारीका तथा अध्ययनका लागि थेगुमा रहेका नेपालीको संख्या करिब १२ हजार रहेको अनुमान छ।
उनका अनुसार हालसम्म उक्त प्रान्तमा सञ्चालित लगभग १२ भन्दा बढी कम्पनीहरु बन्द भइसकेका छन्। सडक तथा सार्वजनिक स्थलहरु सुनसान हुँदै गएकाे उनले बताए।
उनले भने, ‘काम गर्ने कम्पनीहरु धमाधम बन्द हुँदै जाँदा र संक्रमितको संङख्या दिनानुदिन बढ्दै जाँदा नेपालीहरुका बीच त्रासको माहोल सिर्जना भएको छ।’
कम्पनीहरुले नेपाली कामदारलाई सकेसम्म बाहिर नजान र सावधानी अपनाउन आग्रह गरेका छन्। कुनै शंका लागेमा सम्पर्क गर्न टोल फ्री नम्बर दिइएको उनको भनाइ छ। दुई दिन यता उक्त प्रान्तमा रहेका नेपालीले सर्तकता अपनाएका छन्। ‘अहिलेसम्म त्यस्तो अवस्था त आएको छैन तर हामी एकदमै आत्तिएका छौँ’, उनले भने।
थेगुबाट म्यासेन्जरमा कुरा गर्दै उनले चीनमा रहेमा नेपालीहरुलाई उद्धार गरेजस्तो आफूहरुलाई पनि सरकारले सकेसम्म छिट्टै उद्धार गर्ने आशा गरेको बताए।
तर कोरियामा नेपालीहरुको संख्या चीनमा भन्दा धेरै रहेको हुँदा नेपाल सरकारले उद्धार गर्नेमा उनले आशंका व्यक्त गरे।
संक्रमण फैलिँदै गएपछि राजधानी सियोलमा रहेको नेपाली राजदूतावासले आइतबार सावधानी अपनाउन आग्रह गर्दै आधिकारिक जानकारी आफ्नो वेबसाइटमार्फत दिएको छ। कोरियामा झण्डै ४० हजार नेपाली कामदार छन्।
आइतबार मात्रै कोरियामा १ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसमा ७३ जना थेगुका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म चीनमा ७६ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २ हजार ३ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































