
धनगढी- सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पूरा भएको छ।
धनगढी रंगशालामा शुक्रवार भएको चौथो क्वाटरफाईनल खेल सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पूरा भएको हो । प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्।
चौथो क्वाटरफाईनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ। पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको हिमालयन शेर्पाले गोर्खा व्वाईज रुपन्देहीलाई टाईव्रेकरमा ५–४ ले पराजित गरेको हो। निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईव्रेकरवाट निर्णय लिईदा त्यसमा हिमालयन शेर्पा सफल भएको हो।
टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने। उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए । त्यही पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो। गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरे।
शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे। खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए उनले नगद १० हजार सहित ट्रफी पाए।
खेलपछि प्रतिक्रिया दिदैं शेर्पाका म्यानेजर सुसिल तामाङले धेरै प्रतियोगिता खेलेका कारण खेलाडीहरुले स्कोर गर्न नसकेको भएप्नि टाईव्रेकरमा सफल भएको बताए । गोर्खा ब्वाईज क्लबका प्रशिक्षक प्रदिप आचार्यले राम्रो खेलेको भएपनि पाएका मौकालाई गोल गर्न नसक्दा हार व्यहोरेको बताए।
शनिवार प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै आईतवार दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।