
धनगढी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा प्रदेश सरकारप्रति कार्यकर्ताको असन्तुष्टि ब्यक्त गरिनुका साथै प्रदेश सरकारको चर्को आलोचना गरिएको छ।
पार्टीको आइतबार धनगढीमा भएको बैठकमा जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश समितिका सदस्य समेत रहेका जिल्ला अध्यक्षहरुले कार्यकर्ताहरुको असन्तुष्टि रहेको बताएका हुन्।
जिल्लाको प्रतिवेदन पेश गर्दा अध्यक्षहरुले प्रदेश सरकारका गतिविधिले जनतामा निराशा छाएको बताएको प्रदेश समितिका सदस्य तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले जानकारी दिए।
बैठक शुरु हुनासाथ जिल्लाको प्रतिवेदन पेश गर्ने समय दिइएको थियो । नौ वटै जिल्लाको प्रतिवेदन पेश हुँदा सम्म सबै जिल्लाका प्रतिवेदनमा प्रदेश सरकारप्रति असन्तुष्टि ब्यक्त भएको थियो।
प्रदेश कमिटीका सदस्य तथा बैतडी जिल्लाका अध्यक्ष सुरेन्द्र पालले जिल्लाको प्रतिवेदन पेश गर्दै पार्टीका नेता तथा कार्यकर्ताले उपयुक्त नदेखाएका स्थानमा समेत सरकारका तर्फबाट बजेट बिनियोजन गर्ने काम भएको बताएको उनले जानकारी दिए।
आम सञ्चार तथा सामाजिक सञ्जालमा योजनाहरु कमिसन मागेर खरीद बिक्री भएको, कार्यान्वयन कमजोर रहेको कुरा आइरहेकोले त्यसको वास्तविकताबारे जानकारी दिन माग समेत भएको छ।
आवश्यकताका आधारमा योजना छनौट गर्नको साटो नेताहरुसितको सम्पर्क र मन्त्रीहरुसितको चिनजानका आधारमा योजनाहरु छान्ने र बजेट हाल्ने काम भइरहेकोमा कार्यकर्ताको गुनासो रहेको समेत जिल्लाका प्रतिवेदनहरुमा रहेको छ। प्रदेश कमिटीका सदस्य उमेश भट्टका अनुसार पार्टीको प्रदेश कमिटी र प्रदेश सरकारवीच समन्वय हुन नसकेको विषयमा पनि आवाज उठेको छ।
जनतासित प्रत्यक्ष जोडिएका कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी लिएका मन्त्रालयहरुको कामको गति सुस्त देखिएको, सरकारको गतिबिधिले कार्यकर्ताहरुलाई जनतामाझ सरकारको बचाउन गर्न समेत नसकिने अवस्था सिर्जना भएकोले सरकारका सम्बन्धमा पाटीको नेतृत्वले निर्मम निर्णय गर्नुपर्ने पार्टी कार्यकर्ताहरुको माग रहेको सबै जिल्लाका प्रतिवेदनमा उल्लेख रहेको छ।
निकै लामो चलेको बैठकमा प्रदेश सरकारका साथै पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि रहेका स्थानीय तहमा समेत आर्थिक अनियमितताले जरा गाड्दै गएको र त्यसले जनताका बीचमा पार्टीका लागि काम गर्न गह्रो परिरहेकोले स्थानीय तहका जनपतिनिधिहरुलाई पार्टीले निर्देशन गर्नुपर्ने आवश्यक औंल्याइएको छ।
जिल्लाको प्रतिवेदन सुनिसकेपछि स्थायी समितिका सदस्य तथा बाणिज्य मन्त्री लेखराज भट्टले कार्यकर्ताहरुको गुनासो भनेको जनताको गुनासो भएकोले कार्यशैली नसच्चिए मन्त्रीहरु परिवर्तन गर्न सकिने चेतावनी समेत दिएका छन् । उनले पार्टीको कार्यकर्ताहरु तल्लो तहसम्म रहेकोले उनीहरुले जनताका गुनासाहरु टिपेर ल्याएको बताए।
जनताको असन्तुष्टि बढ्दै जानु र नजेताहरुको काम गर्ने शैली परिवर्तन नहुनु भनेको पाटीका लागि समारात्मक संकेत नभएकोले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न नसक्नेले काम गर्नेका लागि बाटो छोड्नुपर्ने बताएको बैठकमा सहभागी प्रदेश कमिटीका एक जना सदस्यले जानकारी दिए।
दिनभरी चलेको बैठकले चैत १ गते देखि लागू हुने जनतासित भेटघाट कार्यक्रम सञ्चालनका लागि तयारी गर्ने, तल्लो तहसम्म एकिकरणको काम सम्पन्न गर्ने र प्रदेशको आर्थिक तथा संगठनात्मक प्रतिवेदन पारित गरेको प्रदेश कमिटीका सदस्य गोकर्ण प्रसाद भट्टले बताए।
प्रदेश कमिटीका सदस्य भट्टका अनुसार प्रदेश कमिटीका बिभिन्न नेताहरुका आचरणका सम्बन्धमा परेका उजरीहरु माथि पनि अध्ययन गर्ने प्रस्ताव समेत लपारित भएको छ।
पार्टीका प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले नौवटै जिल्लाका प्रतिवेदनहरु पारित भएको र चैत १ गते देखि प्रदेश भरी आयोजना हुने जनतासित भेटघाट कार्यक्रमलाई सफल बनाउन सबै जिल्लामा तयारीमा जुट्ने र नेताहरुलाई जिम्मेवारी बाँडफाँड गर्ने एजेण्डामा छलफल भएको र बैठकले ती एजेण्डलाई पारित गरेको बताए।
प्रदेश कमिटीका सदस्यहरुको कार्य बिभाजन गर्ने सम्बन्धमा पनि छलफल भएकोले र प्रदेश कार्यालयले आवश्यकता अनुसार जिम्मेवारी दिने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए।
नेकपाले सोमबार धनगढीको रंगशालामा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला समेत आयोजना गरेको छ । भेलामा पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, केन्द्रीय सचिवालयका सदस्य तथा उप प्रधानमन्त्री इश्वर पोखरेल सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश कमिटीका सदस्य गोकर्ण प्रसाद भट्टले जानकारी दिए।