
धनगढी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले पार्टीको निर्देशन अनुसार सरकार चल्नुपर्ने बताएका छन्।
पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलाको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘ कुनै व्यक्तिको स्वार्थमा नभई पार्टीको नीति अनुसार सरकार सञ्चालन हुनुपर्छ।’
उनले सरकारले कामको प्राथमिकिकरण गरेको तर स्पष्ट नभएकाले जनताले सोचेजस्तो विकास हुन नसकेको बताएइ । बरिष्ट नेता नेपालले पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुङ्गिनमा भएको ढिलाईप्रति सबै नेताहरुले आत्मआलोचना गरि अघि बढ्नु पर्ने बताए।
पार्टीमा देखिएको विवाद प्रति लक्षित गर्दै नेता नेपालले भने-‘पार्टी विघटनको दिशातर्फ जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना मात्र हो, झन एकताबद्ध भएर अघि बढ्छ।’
‘नीतिमा दृढतापूर्वक टेकेर विधिमा हिडेपछि पार्टी भित्रको सवै अन्तरबिरोध हटेर जान्छ’ नेता नेपालले भने–‘धेरै ठुला ठुला चुनौती सामना गरेर आमी अगाडी आएका छौं, अहिले देखिएको विवाद सामान्य हो ।’ नेता नेपालले लोभलालजमा नफसेर सच्चा कम्युनिष्ट कार्यकर्ता बन्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए ।
भेलामा पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वको दृढ इच्छाशक्तिले पार्टी एकिकरण भएको उल्लेख गर्दै यस्ता भेला पार्टी र सरकारको आलोचना गर्ने थलो नभई सिद्धान्त, बिचार प्रवाह गर्ने ठाउ भएकाले त्यसै अनुसार सवै चल्नु पर्ने बताए । उनले पार्टीका नीति र बिचारलाई तल्लो स्तर सम्म पु¥याउन यो भेला महत्वपुर्ण हुने बताए।
पार्टी सचिवालय सदस्य एबं उप–प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले मुलुकमा राजनैतिक स्थायीत्व, बिकास र समृद्धिका लागि दुइ कम्युनिष्ट पार्टीका बिच एकिकरण भएको उल्लेख गर्दै पार्टी एकतालाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने बताए । उनले भने–‘नेकपा एमाले पनि छैन, नेकपा माओवादी केन्द्र पनि छैन, नेकपा मात्र छ त्यही अनुसार सबै नेता तथा कार्यकर्ता अघि बढ्नुहोस्।’
‘कम्युनिष्ट संग जुटेको–फुटेको, जितेको–हारेको र ताली मात्र होई गाली पनि खाएको अनुभव छ’ पोख्रेलले भने–‘यी सबैलाई स्वीकार्दै अहिले देखिएको सामान्य विवाद हल भएर अघि बढ्छौं।’
पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एंव स्थायी कमिटी सदस्य भीम रावलले एमसीसी सम्बन्धमा अध्यन प्रतिवेदन सचिवालयमा बुझाइसकेको उल्लेख गर्दै देशको स्भाविमानमा आच पुग्ने गरि कुनै पनि सहयोग स्वीकार गर्न नहुने बताए।
पार्टीका स्थायी कमिटी सदस्य उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले नेता देखी कार्यकर्तासम्म सवैले एकिकरणको मर्म र भावना तथा विधि–प्रक्रिया अनुसार अघि बढ्नु पर्ने बताए । उनले सरकारको आलोचना सडकमा नभई पार्टीका सम्बन्धित निकायमा गरिनु पर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कसैको स्वार्थका लागि काम नगर्दा सरकारको आलोचना हुने गरेको उल्लेख गर्दै पार्टीले नीतिगत रुपमा योजना दिएमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
भेलामा पार्टीका प्रदेश सहइन्चार्जहरु भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मणदत्त जोशीले गुट–उपगुट त्यागेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा भएको भेलामा स्वागत मनतब्य पार्टीका कैलाली इन्चार्ज रुपा चौधरी र संचालन पार्टी प्रदेश कमिटी सदस्य नेपबहादुर चौधरीले गरेका थिए।