
धनगढी– नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावल जबर्जस्ती करणी प्रयासकाे आरोपमा बुधवार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सुदिप गिरीका अनुसार धनगढी उपमहानगरपालिकाकी एक विवाहित महिलाले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन्।
प्रदेशसभाका सदस्य रावलकविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्।
महिलाको उजुरी आए लगत्तै प्रहरीले उनको खोजी गरेको तर नभेटिएको बताउँदै प्रहरी प्रमुख गिरीले बुधबार प्रदेशसभा सदस्य रावल आफ्नाविरुद्ध उजुरी परेपछि त्यसका बारेमा बुझ्न आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताए।
अहिले उनलाई जिल्ला प्रहरीमा राखेर अनुसन्धान शुरु गरेको प्रहरी प्रमुख गिरीले जानकारी दिए।
रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य हुन्। उनी प्रदेशसभामा नेकपा संसदीय दलका सचेतकसमेत हुन्।
स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्वाचनमा भने विजयी भएका थिए। रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन्। उनले आफूलाई फसाइएको दावी गरेका छन्।