
धनगढी-भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीमा भारतसँग जोडिएका छोटीनाकामा मंगलबार देखि आवागमनमा रोक लगाइएको छ।
चीन लगायत विश्वभरमा महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण रोक्न सिमावर्ती नेपाल–भारतका सुरक्षा अधिकारीको सयुक्त बैठकमा भएको सहमति पछि छोटीनाका भएर आवतजावत गर्नमा रोक लगाइएको हो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भारतसंग जोडिएका सवै छोटीनाकामा आवतजावतमा रोक लगाइएको बताए । उनले कैलालीको मुख्यनाका त्रिनगर र खक्रौला भने यथावत रुपमा संचालन रहेको जानकारी दिए।
कैलालीमा गौरीफण्टा,खग्रौला वाहेक हसुलीया, भजनी, घुइयाघाट लगायतका नाकाहरु रहेका छन् । यी नाकाहरुबाट स्थानीय नेपाल भारत आवत जावत गर्ने गरेका छन्।
यसैगरी भारतमा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि सुदूरपश्चिमको धनगढीबाट भारतको दिल्ली मुम्बई सम्म सञ्चालन हुँदै आएका बस सेवा बन्द गरिएका छन्।
सुदूरपश्चिम सरकारले यातायात सेवा बन्द गर्न दिएको सुझाव पछि धनगढीबाट भारतका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका सार्वजनिक बस सेवा बन्द गरिएको न्यू सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले बताए।
भारतमा दैनिक जसो कोरोना प्रभावित विरामीको संख्या बढेपछि सुदूरपश्चिमममा सो रोग भित्रिन नदिन यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिएको अध्यक्ष साप्कोटाले बताए। उनले आन्तरिक तर्फ पनि ५० प्रतिशत यात्रु घटेको बताए।
सुदूरपश्चिम प्रदेशबाट देशका विभिन्न स्थानमा सञ्चालन गरिएका बस यात्रु नहुँदा सञ्चालन हुन नसकेका उनले बताए । ‘आन्तरिक रुपमा सञ्चालन भइरहेका बसमा यात्रु नआएका कारण अहिले केही बस मात्रै सञ्चालन भएका छन्’ उनले भने–‘अहिलेकै क्रममा यात्रुको संख्या घट्दै गए केही दिनमै सार्वजनिक बस सेवा ठप्प हुन सक्दछ।’ उनका अनुसार धनगढीदेखि विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, पोखरा जस्ता शहरका लागि छुट्ने बस सेवा कटौती गर्नुपर्ने अवस्थामा छ।
‘बस सेवा सञ्चालन नहुँदा यातायात क्षेत्रमा काम गर्ने मजदुरलाई समस्या हुने छ’ उनले भने–‘बस सञ्चालकलाई ऋणको बोझ बढ्ने छ, बैंकको व्याज तिर्न पनि समस्या हुन थालेको छ।’
उनका अनुसार धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन वटा बस सञ्चालन गरिएका थिए। यसैगरी गौरीफंण्टा हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि कोरोनाका कारण बन्द गरिएको उनले बताए।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले प्रदेशमा कोरोना भित्रिन नदिन भारत संग जोडिएका सवै नाकामा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको बताए।
उनका अनुसार कैलालीको धनगढी स्थित गौरिफण्टा नाका, टिकापुरको खक्रौला नाका, कञ्चनपुर संग जोडिएको गड्डाचौकी नाका, ब्रह्मदेव नाका र बैतडीको झलाघाट नाकामा स्वास्थ्यकर्मि सहित हेल्थ डेस्क स्थापना गरिएको छ।
‘सुदूरपश्चिम प्रदेश भित्रिने सवै नागरिकको सीमा नाकामै स्वास्थ्य परिक्षण हुन्छ’ उनले भने–‘संकास्पद व्यक्तिलाई तत्कालै क्वारेण्टाइनमा राखेर उपचार गरिनेछ।’ विरामीको रेखदेख तथा उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, महाँकाली अस्पताल, डडेलधुरा अस्पताल, टिकापुर अस्पताल लगायत सुदूरपश्चिमका सवै पहाडी जिल्लाका जिल्ला अस्पतालमा आइसुलेसन कक्ष स्थापना गरिएको उनले बताए।
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले गौरिफण्टा नामा भएर सुदूरपश्चिम भित्रिने नागरिकको स्वास्थ्य परिक्षणका लागि एम्बुलेन्स सहित स्वास्थ्यकर्मिलाई २४ औं घण्टा खटाइएको बताए।
‘कोरोनाका शङ्कास्पद बिरामी फेला परेमा यस्ता बिरामीको तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान त्रिनगर भन्सार नाकामा एम्बुलेन्स तयारी हालतमा राखिएको छ’ मेयर वडले भने–‘सवै नागरिकले सावधानी अपनाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दछौं।’