
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम घटाउन सोमबारदेखि लामोदूरीका सवारी साधन नचल्ने घोषणा गरेपछि शनिबारसम्म ७ लाख भन्दा बढीले उपत्यका छोडेका छन्।
प्रहरीको तथ्यांक अनुसार चैत १ गतेदेखि शुक्रबारसम्म झण्डै ७ लाख मानिसले काठमाडौँ छोडेका हुन्। चैत १ गते ७१ हजार ५ सय ५६ जनाले काठमाडौँ छोडेका छन्। २ गते ८६ हजार ३२७ जना, ३ गते ८८ हजार २ सय १ जना, ४ गते ९१ हजार ८१६ जना, ५ गते ९५ हजार २४७, ६ गते १ लाख ८ हजार ४५८ जना र ७ गते १ लाख ३० हजार ८२२ जनाले काठमाडौँ छोडेका छन्। काठमाडौँ छोडेर बाहिर जानेको संख्या बिहीबार र शुक्रबार एक लाख भन्दा बढी छ।
यस्तै काठमाडौँ भित्रिनेको सङ्ख्या पनि झण्डै ६ लाख रहेको प्रहरीले जनाएको छ। चैत ५ गते ९८ हजार मानिसहरु काठमाडौँ आएकोमा चैत ६ गते ८३ हजार र ७ गते ६३ हजार मानिसहरु काठमाडौँ भित्रिएका छन्।