
नेपालगञ्ज– कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतसँग जाेडिएका बाँकेका सीमानाका ‘सिल’ गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी र भारत बहराइचका डीएमका बीचमा भएको बैठकपछि यस्तो निर्णय गरिएको हो।
अब भारतबाट आउने अत्यावश्यक मालवाहक ट्रक, एम्बुलेन्सहरु मात्रै चल्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
स्थानीय प्रशासनले केही दिनदेखि नै नाकामा सवारीसाधन निषेध गरेको थियो। तीन किलोमिटर यतै सवारी साधन रोक्दा पनि नाकामा भीडभाड भइरहेपछि एक हप्ताका लागि नाका सील नै गरिएको प्रजिअ खड्काले बताए।
नेपालगञ्ज नाकाबाट दैनिक एक हजार मानिस नेपाल भित्रिरहेपछि जोखिम बढेकाे प्रजिअ खड्काले बताए।
आइतबारको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, एसपी बीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, भारत बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमार सहभागी थिए।
बाँकेको ६५ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सबै ठाउँमा प्रहरी राखेर आवतजावत प्रतिबन्ध लगाइने एसपी ओलीले बताए। त्यसमा भारतले पनि साथ दिनेछ।