
काठमाडौँ– संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।
मिरादेवी जैर सभापति रहेको समितिको आइतबार बसेको बैठकले सीमाबाट हुने आवात जावतलाई व्यवस्थित गर्न नाका बन्द गरी सुरक्षाका उपाय अबलम्बन गर्न निर्देशन दिएको हो।
समिति सदस्य समेत रहेकी नेकपा नेतृ पम्फा भुसालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको सहयोगको प्रस्ताव तत्काल स्वीकार गरी त्यसलाई परिचालन गर्न सरकारलाई भनेको जानकारी दिइन्।
बैठकले कोरोना परीक्षण तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ।
दैनिक उपभोग्य बस्तु सहज बनाउन निर्देशन दिँदै समितिले विदेशी नागरिकको आगमनमा तत्काल प्रतिबन्ध लगाउन निर्देशन दिँदै भनेको छ, ‘तर, नेपाली नागरिकलाई स्वदेश आगमनमा खुला गर। अनि क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाऊ।’
जवाफमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सीमा नाका बन्द गराउने विषयमा कुटनीतिक पहल भइरहेको जानकारी दिए।
उनले भने, ‘सीमा बन्द गराउने विषयमा कुटनीतिक रुपमा कुराकानी भइरहेको छ। केही दिनयता सोचेभन्दा धेरै व्यक्ति सीमाबाट प्रवेश गरे। यस विषयमा अहिले बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुन्छ। कहाँबाट लक डाउन गर्ने भन्ने विषयमा छलफल गर्छौ।’
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
मन्त्री भट्टले समितिलाई दैनिक उपयोग्य वस्तुको मौजदात पर्याप्त भएका अभाव सिजर्ना नहुने दाबी गरे। सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाइ रहेको जानकारी दिँदै केही दिन यता मात्रै बजार अनुगमनका क्रममा कालोबजारी गर्नेलाई ५७ लाख जरिवाना गरिएको जानकारी दिए।
उनले नेपाललाई ६ महिना चाहिने ४० हजार मेट्रिकटन चामल, १० महिनालाई पुग्ने नुन, साल्टटे«डिसँग मात्रै ३ महिनालाई पुग्ने चिनी मौजदात रहेको जानकारी दिए। उनले ग्यास उपभोक्ताले आवश्यकभन्दा बढी संकलन गर्दा केही अभाव जस्तो देखिए पनि चाहिने भन्दा बढी आयात भइरहेको दाबी गरे।
‘ग्यास एक सिलिण्डर लैजानेले चार सिलिण्डरसम्म लग्दा केही अभाव जस्तो देखिएको छ। तर हामीले उच्च याममा आवश्यक पर्ने भन्दा बढी नै आयात गरिरहेका छौं। अहिले ४५ हजार मेट्रिक्न ग्यास ल्याइरहेका छौं, मन्त्ती भट्टले भने।
समितिका सदस्य डा. भीम रावलले सीमा नाका बन्द गर्न, उपचारका सामग्री खरिद गर्न तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सरकारलाई सुझाव दिए।