
मोरङ– विराटनगर महानगरपालिकाले लुकाइरहेको अवस्थामा ठूलो परिमाणको फेस मास्क तथा सेनेटाइजर बरामद गरेको छ।
पछिल्लो समय बजारमा मास्क सर्वसुलभ अवस्थामा नभेटिएको गुनासो बढेसँगै अनुगमनका क्रममा महानगरपालिका वडा नम्बर ९ स्थित श्री सर्जि इम्पेक्सबाट ११ हजार ३ सय ७० थान मास्क र २ सय थान सेनेटाइजर बरामद भएको हो।
आइतबार जनस्वास्थ्य महाशाखा महानगरको अगुवाईमा गरिएको छापामा सो सामाग्री बरामद भएको महाशाखा प्रमुख रमेशकुमार कार्कीले जानकारी दिए। कार्कीले बरामद गरिएको २ सय थान सेनेटाइजरमा अधिकतम खुद्रा मूल्य समेत उल्लेख नगरिएको जानकारी दिए।
महानगरले पटक–पटक औषधि व्यवसायीसँग तत्कालको कठिन परिस्थितिमा सहजिकरण गर्न सुझाव माग्दै आएको थियो। महानगरले शनिबार राखेको आकस्मिक बैठकमा समेत संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले मास्क नभएको र उपलब्ध गराउन सक्ने अवस्था नभएको बताएका थिए।
त्यस लगत्तै आइतबार महानगर जनस्वास्थ्य महाशाखासहितको टोलीले महानगरका विभिन्न स्थानमा छापा मारेको हो। यसक्रममा औषधि व्यवस्था विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलले कालोबजारी गरिरहेको सूचनासहित छापा मारेको जानकारी दिए।
कार्की अनुसार ठूलो मात्रामा अत्यावश्यक सामाग्री लुकाएर राखेको अवस्थामा फेला परेको हो। यसक्रममा इम्पेक्सका सञ्चालक राजेश अग्रवाललाई कालोबजारी अन्तर्गत मुद्दा चलाइने कट्टेलले बताए।