
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गठित उच्च स्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमण रोकथामका लागि भएका प्रयासबारे जानकारी लिएका छन्।
रक्षामन्त्री समेत रहेका पोखरेलले आइतबार मन्त्रालयमा समन्वयन समितिका रहेका मन्त्रीहरुलाई बोलाएर सरकारले तत्काल गर्नुपर्ने काम र तयारीको अवस्थाबारे जानकारी दिएका हुन्।
समन्वयन समितिको बैठक दैनिक रुपमा बस्न नसक्ने भएपछि शनिबार बसेको बैठकले ६ वटा कार्यदल बनाएर काम गर्ने निर्णय गरेको थियो। समन्वयन समितिले उच्च तहको राजनीतिक, सामाजिक समन्वयका लागि पनि कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
यस्तै क्वारेन्टाइन व्यवस्थापन सम्बन्धी कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, बिरामी व्यवस्थापन टिमको नेतृत्व गृह मन्त्री रामबहादुर थापा बादल, सञ्चार तथा सूचना व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, स्वास्थ्य सामग्री आपूर्तिका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आपूर्ति तथा व्यवस्थापनका लागि आपूर्ति मन्त्री लेखराज भट्टको संयोवकत्वमा कार्यदल गठन गरिएको छ। सरकारले गरेका निर्णयको कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्यांकन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले स्वयम्ले गर्ने निर्णय भएको छ।
आइतबारको बैठकमा मन्त्रीहरुले आफ्नो जिम्मेवारीमा परेका कामको अवस्थाबारे जानकारी गराएका हुन्।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।