
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीका नाममा गरेको सम्बोधनमा आइतबारदेखि नेपाल आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द हुने घोषणा गरेका थिए।
कोरोना भाइरसको रोकथामका लागि विदेशबाट आउने यात्रुका सम्बन्धमा सरकारले गरेको यो पहिलो निर्णय भने थिएन। सुरुमा पाँच र त्यसपछि थप तीनसहित बढी कोरोना संक्रमित ८ देशलाई अनअराइभल भिसा दिन बन्द गरेको सरकारले अत्यावश्यक काम परे ती देशमा रहेका आफ्ना दूतावासमा हेल्थ सर्टिफिकेट पेश गरी यात्रा गर्न सक्ने निर्णय गरेको थियो।
त्यसको केही समयमै सरकारले सबै देशका लागि अनअराइभल भिसा दिन बन्द गर्ने निर्णय गर्यो। नेपालको भिसा रहेकाले हेल्थ सर्टिफिकेट लिएर आउनु पर्ने निर्णय थियो। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिले गत साता युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार मध्यरातदेखि लागुहुने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यसमा ती देशमा रहेका नेपालीसमेत आउन नसक्ने उल्लेख थियो। त्यसपछि प्रधानमन्त्री ओलीले नेपाल आउने अन्तर्राष्ट्रिय उडान ९ दिनका लागि बन्द नै गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
त्यसपछि विमान कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार दुई वटा पत्राचार गर्यो। पहिलोमा आइतबार रातीदेखि विदेशबाट यात्रु लिएर नआउन निर्देशन दिइएको थियो। त्यसमा यात्रु बाहिर लैजान, मालबाहक जहाज, उद्धार र हवाइ एम्बुलेन्सजस्ता विशेष संकटकालीन अवस्थामा भने उडान प्रभावित नहुने उल्लेख थियो।
सोही दिन पठाइएको अर्को पत्रमा ‘कोरोना संक्रमित यात्रु र प्रतिबन्धित देशबाट आउने यात्रुलाई पनि नल्याउन उल्लेख छ। प्रतिबन्धपछि शनिबार एयर इन्डिया र थाइ एयरले जापान, मलेसियालगायत प्रतिबन्धित देशमा रहेका नेपाली लिएर आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उनिहरुलाई त्रिभुवन विमानस्थलबाट ‘इन’ हुन आनाकानी गरेको थियो।
यसले विदेशबाट आउने यात्रुलाई पुर्ण प्रतिबन्ध लगाएको अर्थ लाग्दैन। सरकारले सबै देशका नागरिकलाई अन अराइभल भिसा स्थगित गरिसकेको छ। युरोपसहित विश्वका धेरै देशलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। चैत ९ देखि १८ गतेसम्मका लागि नेपाल आउने सम्पुर्ण नियमित उडान पनि प्रतिबन्ध लगाइएको छ।