
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले वडा कार्यालय, पार्क र नगर बस बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको बोर्डको आकस्मिक बैठकले उपमहानगरपालिका कार्यालय र वडा कार्यालयबाट अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो। बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
नेपालगञ्जयको पर्यटकीय स्थल रानी तलाउ, महेन्द्र पार्क, चाट पसलहरु बन्द गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए। नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्कमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन्। यी दुवै ठाउँ १५ दिनसम्म बन्द गर्ने निर्णय भएको छ।
उपमहानगरपालिकाले १५ दिनसम्म नगर बस बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले ७ वटा नगर बस खरिद गरेर ठेक्कामा सञ्चालन गरिरहेको छ।
बैठकले स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री तत्काल खरिद गर्ने, सबै वडालाई थ्री लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने, विपन्न समुदायका लागि साबुन वितरण गर्ने, नगर क्षेत्रमा स–साना नालाहरु सफा गर्ने, चुना लगाउने र घाँस सफा गर्ने निर्णय गरेकाे छ।
यस्तै कोरोना भाइरसबाट नगरवासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने, वडाहरुमा हेल्थ डेस्क राख्ने, सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर काम गर्ने, कोरोना भाइरसबाट जाेगिन पूर्वतयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
यसैबीच जिल्लामा ४० बेडको आइसोलेसन बेड तयार पारिएको छ। लायन्स क्लबले सञ्चालन गरेको डेन्टल अस्पतालमा आइसोलेसन कक्ष तयार पारिएको छ। क्वारेन्टाइनका लागि अरु ठाउँ खोज्ने काम भइरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले आवश्यक परे क्वारेन्टाइनका लागि आफ्ना दुई वटा कार्यालय दिन तयार रहेको जनाएको छ।