
बुटवल – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार राती १२ बजेदेखि अनिश्चितकालसम्मका लागि अर्घाखाँची जिल्ला लक डाउनको घोषणा गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई लक डाउन गर्ने निर्णय गरेको हो ।
विदेश तथा अन्य जिल्लाबाट गाउँ फर्किनेहरुको भीड बढ्दै गएको र उनीहरुमा कोरोना संक्रमण भएको भए फैलिनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सर्वपक्षीय छलफलबाट लकडाउनको निर्णय लिएको हो ।
कोरोना संक्रमण फैलिन नदिन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल सोमबार राति १२ बजे पछि चल्न पाउने छैनन् । मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण पछि मात्रै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ ।
जिल्लामा औषधि पसल र पेट्रोल पम्प चौबीसै घन्टा खुला रहने छन् । खाद्यान्न, ग्यास, तेल, फलफूलका पसल प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छन् । दूध डेरी, फलफुल तथा तरकारी पसल बिहान ६ देखि बिहान ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्रै खुला हुने भएका छन् ।
बैठकमा राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका सभापति विष्णु मुस्कानसहित सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दल, विभिन्न संघ सस्थाका प्रतिनिधि, यातायात व्यवसायी, उद्योगी, व्यवसायी सहभागी थिए ।
बैठकले विदेश तथा अन्य जिल्लाबाट हालै घर फर्केकाहरुलाई सेल्फ क्वारेन्टाइनमा रहन र परिवारका अरु सदस्य तथा गाउँमा हिँडडुल नगर्न आह्वान गरेको छ ।