
काठमाडौँ- तीनवटै सुरक्षा निकायले ‘सम्भावित लक डाउन’का लागि तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिएका छन्। विभिन्न जिल्ला र स्थानीय निकायले लकडाउनको निर्णय गरिसकेपनि संघीय सरकारले यसबारे केही बोलेको छैन।
फ्रान्सबाट कतार हुँदै एक साता अघि नेपाल भित्रिएकी एक युवतीमा सोमबार कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएसँगै स्थानीयदेखि संघीय सरकारसम्मले सतर्कता अपनाउन थालेका छन्। लकडाउन भए त्यसको ‘मनिटरिङ’मा सुरक्षा निकायहरु परिचालन हुने छन्। कोरोना भाइरस फैलन नदिन लकडाउनको निर्णय अपनाइएको हो। लक डाउनमा अत्यावश्यक कामभन्दाबाहेक घरभन्दा बाहिर निस्कन मनाही गरिन्छ।
स्रोतका अनुसार नेपाली सेनाले सबै पृतनालाई सम्भावित लकडाउनका लागि तयार रहन निर्देशन दिएको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि लकडाउनका बेला के गर्ने भन्नेबारे गृह कार्य गरिरहेको जनाइएको छ। नेपालमा यसअघि कहिल्यै लकडाउन भएको छैन। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितीको जारि बैठकले लकडाउन सम्बन्धमा निर्णय गर्न सक्ने जनाइएको छ।