
काठमाडौँ – सामान्य खालका कसुरमा पक्राउ परेका अभियुक्तलाई धरौटीमा रिहा गर्न थालिएको छ।
कोरोना संक्रमणबाट बच्न महान्यायाधीवक्ता कार्यालयले एक वर्षभन्दा कम कैद सजाय पाई कैदमा रहेका र अनुसन्धाका क्रममा रहेका व्यक्तिलाई धरौटीमा रिहा गर्न दिएको निर्देशनअनुसार छाड्न थालिएको हो।
काठमाडौँमा आइतबार र सोमबार गरी अनुसन्धामा रहेका १९ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न अनुमति दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका सहायक न्यायाधीवक्ता नुमराज खनालले जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार १५ र सोमबार ४ जनालाई धरौटीमा रिहा गरी अनुसन्धान गर्न अनुमति दिइएको हो। छुटेका मध्ये सार्वजनिक मुद्दा, अभद्र व्यवाहार, चोरी जस्ता सामान्य खालका अभियुक्त रहेका छन्।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज उप्रेतीले सबै सरकारी वकिल कार्यालयलाई सामान्य मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निर्देशन दिइएको जानकारी दिए।
उनले आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख सरकारी वकिललाई महान्याधीवक्ता कार्यालयमै बोलाएर भनिएको बताए। तर कहाँ कति अभियुक्त छाडियो भन्ने तथ्यांक आइनसकेको उनले देश सञ्चारलाई बताए।
त्यस्तै एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई बाँकी अवधिको प्रतिदिन तीन सयका दरले रकम बुझाएर छुट्नका लागि पनि निवेदन प्राप्त हुन थालेको छ।
काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सोमबार चारवटा निवेदन प्राप्त भएको र एउटा निवेदनलाई अस्वीकृत गरिएको जानकारी दिए। सोमबार परेका निवेदन उपर बुधबार इजलासमा पेश हुनेछ।
इजलासले अनुमति दिएको खण्डमा कैदी मुक्त हुनेछन्। महान्यायाधीवक्ता कार्यालयले कारागारमा कोरोना संक्रमणको जोखिम मूल्यांकन गर्दै भीडभाड कम गर्न कम एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई रिहा गर्ने निर्णय चैत ६ गते गरेको थियो।