हाल विश्व नै कोरोना भाइरस महामारीको चपेटामा छ। अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या तीन लाख ९२ हजार एक सय ६९ पुगेको छ। यस्तै १७ हजार एक सय ३८ जनाको मृत्यु भएको छ। चीन पछाडि कोरोना भाइरसले सबै भन्दा बढी असर इटालीलाई गरेको छ। इटालीमा हालसम्म कोरोना भाइरसका कारण ६ हजार ७७ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या ६३ हजार ९२७ पुगेको छ। यसै सन्दर्भमा देशसञ्चार संवाददाता सपना न्यौपानेले करिब २२ वर्षदेखि इटालीको मिलानमा बस्दै आएकी काभ्रेपलाञ्चोक पाँचखालकी प्रतीक्षा पौडेलसँग कुराकानी गरेकी छन्।
१) इटालीमा अहिले तपाईँहरुको अवस्था कस्तो छ ?
पहिला त म के भन्न चाहन्छु भने जसलाई कोरोना लागेको आशंका लागेको छ, कोही पनि नआत्तिनुहोस्। यो रोग लाग्दैमा मान्छे मर्दैन। आफूले मुख्य कुरा सरसफाइमा ध्यान दिनुपर्यो। यहाँको अवस्थाको बारेमा भन्नुपर्दा चाहिँ बच्चाहरुको स्कूल बिदा भएर घर बसेको १ महिना भयो। हामी पनि बाहिर घुलमिल नभएको २ हप्ता जति भयो। हामीले दाल, चामल, गेडागुडी जस्ता मुख्य चाहिने खाद्यान्न पहिले नै राखेका थियौँ। त्यही पनि १० दिनमा एक दिन सुपरमार्केट जान्छौँ। लाइन लागेर पालैपालो सपिङ गर्न भित्र पठाउँछ। खासै त्यस्तो अप्ठेरो स्थिति छैन्, हाम्रो अबस्था सामान्य नै छ। खानेकुराको अभाव पनि छैन। तर सामाजिक सञ्जालमा इटालीको बारेमा अलि बढी नै समस्या देखाएको पाइयो।
२) यता त इटाली लकडाउनमा छ भन्ने खबर आइरा’को छ, यस्तो अवस्थामा तपाईँ कसरी सुपर मार्केट जानुहुन्छ?
यहाँ औषधी पसल र सुपर मार्केट नजिकै हुन्छ, करिब १० मिनेटको अन्तरमा। अत्यावश्यक सामग्रीको लागि सधैँ खुला नै छ। अहिले सामान्य ज्वरो आउँदा चाहिँ संक्रमण फैलिन सक्छ भनेर अस्पताल जान निषेध गरिएको छ। तर यदि हामीलाई गाह्रो भएको अवस्थामा डाक्टरसँग कन्सल्ट गरेपछि उहाँहरुले औषधीको नामहरु इमेलमा पठाइदिनुहुन्छ, त्यहीअनुसार हामी औषधी पसल जान्छौँ।
३) अहिले र पहिलेको अवस्थामा कस्तो खालको भिन्नता छ सामानहरुमा?
यहाँ कालोबजारी नहुने भएकाले बजार भाउमा खासै मनलाग्दी हुँदैन। यदि कसैले सामान सबै उठाएर लगे छुट्टै कुरा हो नत्र सधैँ उस्तै रेट हो सामान को। मान्छेहरुलाई अभाव नहोस् भनेर सुपर मार्केटहरु सधैँ खुला नै हुन्छन्।
४) नेपाली राजदूतावास र गैरसरकारी निकायबाट केही सहयोग पाइएको छ?
इटालीभरिमा हामी करिब १ हजारदेखि १२ सय नेपाली छौँ। हामी बसेको ठाउँमा चाहिँ करिब २ सय नेपाली छौँ। यहाँको विशेष दूतावास छैन। यहाँको निगरानी स्वीजरल्यान्ड (स्विस) दूतावासले गर्छ। हामीलाई केही समस्या पर्यो भने हामीले त्यहीँ खबर गर्ने हो तर अहिलेसम्म हामी समस्यामा परेका छैनौँ।
५) दुई सातादेखि यसरी बसिराख्नुभाको छ, स्वस्थ रहन के के गर्दै हुनुहुन्छ?
बच्चाहरुलाई त खेल्ने वातावरण छ घरभित्रै। उनीहरु रमाइ नै राखेका छन्। अब हामीले त के गर्नु खै? बच्चाहरुलाई खाना बनाऊ, खुवाऊ, सरसफाइ गर, होमवर्क सिकाऊ, यसरी नै बितिरा’को छ।
६) तपाईँलाई यस्तो विषम परिस्थितिमा नेपाल आउन मन छ कि त्यतै बस्न चाहनुहुन्छ ?
खासमा भन्नुपर्दा म लगायत मेरो परिवारलाई अहिले नेपाल आउन मन छैन। किनभने पहिलो कुरा हामी आवतजावत गर्दा बीचमा हामीलाई कोरोना भाइरसको संक्रमण देखियो भने त्यहाँ नेपालमा आएर अरुलाई पनि सर्ने सम्भावना हुन्छ। यहाँ हामी सुरक्षित छौँ। यहाँको सरकारले विदेशी भनेर हामीलाई भेदभाव गरेको छैन। सबैलाई समान व्यवहार र उत्तिकै सुविधा प्रदान गरिएकाे छ। हुन त सबैको आफ्नोआफ्नो इच्छा हो। तर मेरो विचारमा चाहिँ हामी जहाँ छौँ, त्यहीँ सुरक्षित भएर बसेको राम्रो।
७) नेपालमा हिजो दोस्रोपटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ, केही भन्न चाहनुहुन्छ?
नेपालमा सामान्य अवस्था हुँदै सरकारले लकडाउनको व्यवस्था गरिसकेको छ। पहिले नै सावधानी अपनाइएकाले कोही पनि नआत्तिनुहोला। हामी यहाँ भएर त ढुक्क छौँ, आफैँ ध्यान दिइराखेका छौँ। सरकारको नियमसँगसँगै आफ्नो स्वास्थ्यको ख्याल आफैँ गर्नुहोस्। आशाा छ छिट्टै नै सबै कुरा नर्मल हुन्छ।

भर्खरै
लोकप्रिय






































































































































































































