सिमकोट– बाजुरा जिल्ला हुँदै कवाडी नाकाबाट दक्षिणी हुम्लामा १ सय ६० जना हुम्लाबासी भित्रिएपछि ताँजाकोट र अदानचुलीका स्थानीय बासिन्दाहरु काेराेना भाइरस भित्रिन सक्ने भन्दै त्रसित बनेका छन्।
भारतका विभिन्न क्षेत्रमा मजदुर गरी घर फर्कनेको संख्या ठूलो भएपछि स्थानीयहरु त्रासमा परेका हुन्।
ताँजाकोट गाउँपालिका वडा नम्बर २ मैला गाउँका धर्म जैसीका अनुसार बाजुरा र हुम्ला जिल्लाको कवाडीबाट बिना चेकजाँच ताँजाकोटमा धेरै मानिस भित्रिएपछि कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै स्थानीय त्रासमा बस्नुपरेको बताए।
हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले कवाडीमा प्रहरीले रोक्न खोजेपछि स्थानीयले नमानेको कारण ठूलो संख्यामा मानिसहरु हुम्लामा प्रवेश गरेका बताए।
यसैबीच हुम्लामा ५० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेसन बनाइएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै हुम्लामा क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिएको हो।
जिल्ला विपद व्यवस्थापन समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले ५०ल क्वारेन्टाइन र ५ आइसोलेसन बनाइएको जानकारी दिइन्।
सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को रानीबनमा रहेको होटल कैलाश रिसोर्टमा उक्त क्वारेन्टाइन बनाइएको हो। होटेलका सबै कोठा, बेड र खटिया सबै प्रयोगमा आउने छन्।
होटल नजिकैको सिमसार क्षेत्रभित्र निर्माण भएको म्युजियमलाई आसोलेशन वार्डको रुपमा प्रयोग गरिनेछ।
यस्तै प्रमुख जिल्ला अधिकारी भट्टराईको संयोजकत्वमा सात सदस्यीय क्वारेन्टाइन व्यवस्थापन समिति पनि गठन गरिएको छ।
यदि जिल्ला कोरोना संक्रमित भेटिएको खण्डमा व्यवस्थित उपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला स्वास्थ्य आपतकालीन समिति पनि बनाइएकाे छ।

भर्खरै
लोकप्रिय






































































































































































































