
सिमकोट – भारतमा ज्याला मजदूरी गरि हुम्ला भित्रिनेको संख्या एक सय नाँघेपछि स्थानीय बासिन्दाहरु त्रसित भएका छन् ।
गत कार्तिक मंसिर महिनामा काम गर्न भारतका विभिन्न स्थानहरुमा गएका हुम्लाबासीहरु कोरोना भाइरसको सन्त्रास फैलिएपछि जिल्ला फिर्ता हुने क्रम बढ्दा हुम्लाबासीमा त्रास बढेको हो । भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका हुन् ।
ताँजाकोट गाउँपालिका वडा नम्बर २ का धर्म जोशीले हालसम्म भारतमा काम गरि फर्कनेको संख्या ६० पुगेको बताए । यो संख्या ताँजाकोट गाउँपालिकाको मात्र हो । उनका अनुसार भारतमा काम गरि फर्कनेहरुलाई कवाडीमा सामान्य चेकजाँच गर्ने बाहेक अन्य केही पनि उपचार विधि र क्वारेनटाइनको व्यवस्था नगरिएको कारण स्थानीयबासी त्रसित भएका हुन् ।
भारतबाट आउनेहरु घरपरिवारसँगै बस्न थालेका छन् । यसले परिवारको सदस्यसहित अन्य छिमेकीहरुले त्रासमा बस्नु परेको छ । घरमा पनि क्वारेनटाइनका रुपमा राख्न सकिने उपाय हँुदाहुँदै त्यसो पनि कसैलाई गरिएको छैन । यता खार्पुनाथ गाउँपालिकामा पनि भारतबाट काम गरेर सात जना फिर्ता आएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।
सावधानीका लागि तीनजनालाई गाउँ भन्दा छुट्टै रहेको घरमा राखेर खाना बस्नको व्यवस्था गरिएको तर चारजना भने घरमै आएर बसेको उनले बताए । अहिले नाम्खा बाहेक अन्य सबै गाउँपालिकामा भारतबाट फर्कनेहरु पुगिसकेका छन् ।
प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका चैत १० गतेयता कवाडी नाकाबाट मात्र ४७९ जना भित्रिएका छन् । उनीहरु मध्य ६५ जना बालबालिका रहेका छन् । सदरमुकाम सिमकोटमा तयारी अवस्थामा रहेका ३० शैयाका क्वारेनटाइन वार्डहरु खाली छन् ।